लहान नगरपालिका गाउँ-टोलमा पुग्दै, एक वर्षमा ६ सय महिलाको गरियो पाठेघरको जाँच ।
सिरहा — लहान नगरपालिका-१६ तरेगनास्थित स्वास्थ्य चौकीमा अन्य दिनको तुलनामा सोमबार बढी भीडभाड थियो । त्यसमा पनि खासगरी महिला धेरै थिए । उनीहरू यसरी यहाँ पाठेघरको जाँच गराउन आइपुगेका हुन् ।
लहान नगरपालिकाको सहयोगमा लहान क्यान्सर केयर सेन्टरले स्वास्थ्य चौकीमा पाठेघर जाँच शिविर चलाएको थियो । यहाँ पहिलोपल्ट यस्तो शिविर चलाइएको भने होइन, यसरी नै नगरपालिकाका २४ वटै वडामा एक वर्षदेखि पाठेघर जाँच शिविर चल्दै आएको छ ।
यस अवधिमा नगरपालिकाभरिमा झन्डै ६ सय जना महिलाको पाठेघर चेकजाँच भएको नगर प्रमुख महेशप्रसाद चौधरीले जनाए । पाठेघरको जाँच अत्यन्तै आवश्यक भए पनि जाँच नै नगराउने प्रवृत्ति रहेको र यसलाई अन्त्य गर्ने उद्देश्यले गाउँटोलमै शिविर चलाइरहेको उनले बताए ।
'पाठेघरको जाँच अत्यन्तै आवश्यक छ, तर हाम्रो समाजमा अझै यसप्रति महिलाहरू अप्ठ्यारो मान्ने स्थिति छ,' नगर प्रमुख चौधरीले भने, 'त्यसैले जाँचसँगै महिलालाई स्वास्थ्य सचेतना पनि दिने उद्देश्यले गाउँटोलमै गएर शिविर चलाएका हौं ।'
शिविरका क्रममा क्यान्सर नै लागेका बिरामी नभेटिए पनि संक्रमण भएका, पाठेघरमा सिस्ट भएका जस्ता बिरामी भेटिने गरेको चिकित्सक डा. गीता यादवले बताइन् । शिविरमा फेला परेका बिरामीलाई नि:शुल्क औषधि र आवश्यक पर्नेलाई लहानस्थित क्यान्सर केयर सेन्टरमा थप उपचार हुने गरेको उनले जानकारी दिइन् ।
