पर्सा राष्ट्रिय निकुन्जले वन्यजन्तुको परम्परागत पदमार्ग जोगाउन त्रिभुवन राजपथको ८ किलोमिटर खण्डमा कम्तीमा दुई ओभर पास निर्माणको प्रस्ताव गरेको हो।
What you should know
पर्सा — वन्यजन्तुको परम्परागत पदमार्गमा पर्ने पर्सा राष्ट्रिय निकुन्ज अन्तर्गत त्रिभुवन राजपथको पथलैया–अमलेगखगन्ज सडक खण्डमा २ ओभर पास निर्माणको प्रस्ताव गरेको छ ।
पर्सा निकुन्जका संरक्षण एवम् सूचना अधिकृत सन्तोषकुमार भगतले सडक विभागले त्रिभुवन राजपथको यो खण्ड बिस्तार गर्ने तयारी गरेकाले बिस्तारअघि निकुन्ज प्रशासन, नेपाली सेना, स्थानीय बासिन्दालगायत सरोकारवालासँग सुझाव मागेपछि निकुन्ज प्रशासनले यस्तो सुझाव दिएको जानकारी दिएका छन् ।
निकुन्जको अति संवेदनशील क्षेत्र भएर गएकाे त्रिभुवन राजपथमा वन्यजन्तुको क्षति न्यूनीकरणका लागि बिभिन्न विकल्पबारे हालै विभागले सरोकारवालाको सुझाव मागेको थियो । ‘निकुन्ज प्रशासनले त्रिभुवन राजपथको पथलैयादेखि अमलेगन्ज ८ किलोमिटर खण्डमा कम्तीमा २ वटा ओेवर पास निर्माणको सुझाव दिएको हो,’ उनले भने, ‘सरकारी नीति पनि निकुन्ज वा वन क्षेत्रमा कुनै पनि पूर्वाधार निर्माण गर्दा वन्यजन्तु मैत्री पूर्वाधार निर्माण गर्नुपर्ने हुन्छ ।’
विशेषगरी राजमार्गको यो ८ किमी सडक खण्ड वन्यजन्तुको अत्यधिक आवागमन हुने क्षेत्र मानिन्छ । यसै खण्डमा निकुन्जका रैथाने जंगली हात्तीको परम्परागत पदमार्ग समेत रहेको छ । हात्तीको समूह प्रायः आफ्नै पदमार्गमा बर्सेनि लामो यात्रामा निस्कने गर्छन् । साउन/भदौ महिनामा निकुन्जका हात्ती तथा पूर्वबाट यहाँ आउने हात्तीको समूह पनि राजमार्ग पार गरेर आफ्नो यात्रा तय गर्ने गर्छन् । यस्तो अवस्थामा बाटोमा सवारी साधन आउँदा वन्यजन्तु र सवारीमा रहेका यात्रु दुबैलाई जोखिम हुन्छ ।
यही सडक खण्डमा प्रायः समूहबाट छुट्टिएको जंगली हात्ती देखा पर्ने गरेको छ । यसरी हात्तीलगायतका वन्यजन्तु राजमार्ग क्षेत्रमा आउँदा यात्रुलाई पनि जोखिम हुने गर्छ । बेलाबेलामा सवारी साधनसँग ठोक्किएर बाघ, चित्तल, बाँदर, बँदेललगायतका वन्यजन्तु मरेका घटना पनि छन् । प्रस्तावित ओभर पास २ खण्डमा पनि बनाउन सकिने सुझाव दिइएको भगतले बताए । ‘एउटै ओभर पासले वन्यजन्तुको परम्परागत पदमार्ग बिथोल्न सक्ने भएकाले त्यसलाई २ खण्डमा बनाउन उचित हुने सुझाव दिएका छौं,’ उनले भने, ‘यसो गर्दा आफू अनुकुल पर्ने ओभर पास मूनिबाट वन्यजन्तु सहजै र सुरक्षित रुपमा यात्रा गर्न सक्छन् ।’
ओभर पासबाहेक अन्य क्षेत्रमा निकुन्जमा घेराबेरा गरेपछि वन्यजन्तुले ओभर पास मूनिको निश्चित बाटो भएर मात्र यात्रा गर्ने र उनीहरु राजमार्गमा आउने सम्भावना नहुने भएकाले दुर्घटनाको जोखिम पनि नरहने उनले बताए ।
