सोमबार दासमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरिएको हो ।
राजविराज — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस रकम लिँदै गर्दा पक्राउ गरेका नेपाल विद्युत् प्राधिकरण कञ्चनपुर वितरण केन्द्र, सप्तरीका प्रमुख इन्जिनियर महेन्द्रकुमार दासमाथि भ्रष्टाचार मुद्दा दर्ता गराएको छ । सोमबार दासमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गराएको हो ।
चार्जिङ स्टेसनका लागि राखिएको ट्रान्सफर्मरमा विद्युत् प्रवाह गरिदिने भनी दासले सेवाग्राहीसँग घूस मागेको उजुरी परेको थियो । सोही आधार खटिएको आयोगको इटहरीस्थित टोलीले गत चैत २३ मा दासलाई हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित एक होटलबाट १ लाख ४० हजार रुपैयाँ घूस लिँदै गर्दा पक्राउ गरेको थियो ।
नियमअनुसार राखिएको ट्रान्सफर्मरमा विद्युत् प्रवाह गर्न बार्गेनिङ गरेको र घूस नदिए विद्युत् काटिदिने धम्की दिएको पाइएकाले दासमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम कसुरमा सोहीबमोजिम बिगो, कैद र जरिवाना मागदाबी लिइ मुद्दा दर्ता गरिएको हो ।
