जिल्ला प्रशासन कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै केही निजी विद्यालयले प्रचलित कानुनविपरीत अभिभावकलाई तोकिएको पसलबाट मात्रै पुस्तक र पोसाक खरिद गर्न दबाब दिएको गुनासो प्राप्त भएको जनाएको छ।
पर्सा — जिल्ला प्रशासन कार्यालय पर्साले निजी विद्यालयहरूले विद्यार्थी तथा अभिभावकलाई निश्चित पसलबाट मात्रै पाठ्यपुस्तक र विद्यालय पोसाक खरिद गर्न बाध्य पारे कडा कारबाही गर्ने चेतावनी दिएको छ।
जिल्ला प्रशासन कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै केही निजी विद्यालयले प्रचलित कानुनविपरीत अभिभावकलाई तोकिएको पसलबाट मात्रै पुस्तक र पोसाक खरिद गर्न दबाब दिएको गुनासो प्राप्त भएको जनाएको छ।
सूचनामा विद्यालय प्रशासन र व्यवसायीबीचको मिलेमतोमा उपभोक्ताले पाउनुपर्ने छुटसमेत नदिई आर्थिक लाभ लिने कार्य भइरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। यस्तो कार्यलाई ‘सिन्डिकेट, एकाधिकार र आर्थिक शोषण’ को संज्ञा दिँदै तत्काल बन्द गर्न निर्देशन पनि दिइएको छ।
प्रशासनले यस्ता गतिविधि नरोकिए विद्यालय र सम्बन्धित पसल दुवैलाई प्रचलित ऐनअनुसार कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ। साथै, अभिभावकलाई कुनै विद्यालयले निश्चित पसलबाट सामान खरिद गर्न बाध्य पारेको प्रमाण, बिल वा अन्य कागजातसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आग्रह गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाद्वारा हस्ताक्षरित सूचनामा उपभोक्ता हितविपरीतका गतिविधि नियन्त्रण गर्न सबै सरोकारवालाको सहयोग आवश्यक रहेको पनि उल्लेख छ।