वीरगन्जका ४ क्यासिनोमा प्रहरी छापा, ६ भारतीयसहित १ नेपाली पक्राउ

प्रहरीले किङ, फर्चुन सिटी गेमिङ क्लुब र क्यासिनो माजोङलगायतका स्थानबाट जुवा खेलिरहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

वैशाख २७, २०८३

शंकर आचार्य

Police raid 4 casinos in Birgunj, 6 Indians, 1 Nepali arrested

पर्सा — पर्सा प्रहरीले वीरगन्जस्थित विभिन्न क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा ६ भारतीय नागरिकसहित १ नेपालीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार  शनिबार राति करिब पउने १२  बजे वीरगन्जका चार वटा क्यासिनोमा शंकास्पद गतिविधि भइरहेको विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मारेको हो।

प्रहरीले किङ, फर्चुन सिटी गेमिङ क्लुब र क्यासिनो माजोङलगायतका स्थानबाट जुवा खेलिरहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्नेमा भारत बिहार घर भएका २६ वर्षीय गणेश कुमार, ३८ वर्षीय सन्दीप कुमार, ३१ वर्षीय सुरज प्रसाद, ४३ वर्षीय अल्लाह यादव र ३६ वर्षीय ओमप्रकाश यादव रहेका छन्। त्यसैगरी वीरगन्ज महानगरपालिका–३२ निवासी ३७ वर्षीय जमुदिन मियाँ अन्सारी पनि पक्राउ परेका छन्।

प्रहरीले उनीहरूको साथबाट ५ सय रुपैयाँबराबरको क्यासिनो क्वाइन, नेपाली रुपैयाँ ५ सय ५५, भारतीय रुपैयाँ १ हजार २ सय तथा दुई वटा मोबाइल बरामद गरेको जनाएको छ।

पक्राउ परेकामाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको  प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी हरिबहादुर बस्नेतले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully