घटनामा संलग्नविरुद्ध लागूऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।
What you should know
पर्सा — पर्सा प्रहरीले सन्चालन गरेको ‘लागूऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान’अन्तर्गत विभिन्न स्थानबाट ८ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट खैरो हिरोइन, सेतो हिरोइन तथा प्रतिबन्धित ट्याब्लेट बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार २०८३ वैशाख २५ गते साँझ वीरगन्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेट चेकपोष्टमा भारतबाट नेपालतर्फ आउने पैदलयात्री तथा सवारीसाधनको जाँच गर्ने क्रममा लागूऔषधसहित उनीहरू पक्राउ परेका हुन्। प्रहरीले पक्राउ परेकाहरूको शरीर तथा सवारीसाधनमा लुकाइछिपाइ राखिएको अवस्थामा लागूऔषध फेला पारी बरामद गरेको जनाएको छ। घटनामा संलग्नविरुद्ध लागूऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा २७ वर्षीय विकासकुमार साह र २३ वर्षीय कबिन पराजुली रहेका छन्। उनीहरूबाट ६ सय मिलिग्राम खैरो हेरोइन बरामद गरिएको थियो। त्यस्तै २० वर्षीय सागर घिमिरे र २३ वर्षीया पूजा जिम्बाबाट ५ ग्राम खैरो हेरोइन र शून्य दशमलव २५ मिलिग्राम सेतो हेरोइन बरामद भएको छ।
वैशाख २६ गते बिहान प्रहरीले २९ वर्षीय अन्जन थापा र १९ वर्षीय रमेश बम्जनलाई ३ ग्राम ३७ मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ। त्यसैगरी ३७ वर्षीय राजु बनियाँ र ५२ वर्षीय अलिहदन मियाँलाई ५३ पिस प्रतिबन्धित ट्याब्लेटसहित नियन्त्रणमा लिएको छ । प्रहरीले घटनामा प्रयोग भएको मधेश प्रदेश ०३–०२८ प ७६५६ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले लागूऔषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाइने बताएका छन्।
