मधेशमा यादव नेतृत्वको सरकारलाई निरन्तरता दिने ४ दलको निर्णय

जनकपुरमा आइतबार बसेको कांग्रेस, जसपा नेपाल, नेकपा र लोसपाको बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सरकारलाई निरन्तरता दिने र विश्वासको मत यथाशिघ्र लिने निर्णय गरेको छ ।

वैशाख २७, २०८३

अजित तिवारी

4 parties decide to continue Yadav-led government in Madhesh

जनकपुर — जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मधेश प्रदेश सरकारका ४ घटक दलले कांग्रेसको नेतृत्वमा रहेको सरकारलाई निरन्तरता दिने निर्णय गरेको छ । 

जनकपुरमा आइतबार बसेको कांग्रेस, जसपा नेपाल, नेकपा र लोसपाको बैठकले मुख्यमन्त्री कृषणप्रसाद यादवको सरकारलाई निरन्तरता दिने र विश्वासको मत यथाशिघ्र लिने निर्णय गरेको छ । 

बैठकमा कांग्रेसबाट संसदीय दलका नेता एवं मुख्यमन्त्री यादव,  जसपका संसदीय दलका नेता सरोज कुमार यादव, नेकपाको संसदीय दलका नेता युवराज भट्टराई र लोसपाबाट मन्त्री रहेकी रानी तिवारीको उपस्थिति थियो ।  जनमतले फिर्ता लिएपछि मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने भएका छन् । 

सरकार टिकिरहन चाहिने संख्या ४ दलसँग पुग्छ । मधेश प्रदेश सभामा हाल १ सय १ सांसद छन् । कांग्रेसका २२, एमालेका २४, जनमतका १२, नेकपाका १५, जसपा नेपालका २६, नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टीका १–१ जना सांसद छन् । यसअघि, मधेश प्रदेश सभामा १ सय ७ जना सांसद थिए ।

लोसपाका अभिराम शर्मा, जसपाका सरोजसिंह कुशवाहा र राप्रपाकी कञ्चन बिच्छा निलम्बित छन् भने जनमतका सतीशकुमार सिंह, नेकपाका भरतप्रसाद साह र रहबर अन्सारी प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार हुँदा प्रदेश सांसदबाट राजीनामा गरेका थिए । 

4 parties decide to continue Yadav-led government in Madhesh

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully