राजमार्गको बीच भागमा पल्टिएको उक्त भारतीय ट्यांकर चार महिनासम्म पनि धनी सम्पर्कमा नआएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा अलपत्र अवस्थामा छ ।
What you should know
रौतहट — गत पुषमा झण्डै २४ घण्टा पूर्व–पश्चिम राजमार्ग ठप्प पारेको ग्यास बोकेको बुलेट ट्यांकर अहिलेसम्म सम्बन्धित धनीले लगेको छैन् ।
राजमार्गको बीच भागमा पल्टिएको उक्त भारतीय ट्यांकर चार महिनासम्म पनि धनी सम्पर्कमा नआएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा अलपत्र अवस्थामा छ ।
चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको दोस्रो लच्कानजिकै २०८२ पुष १५ मा ग्यास बोकेको बुलेट ट्यांकर सडकमै पल्टिए पछि २४ घण्टा यातायात अवरुद्ध भएको थियो । भारतबाट वीरगन्ज नाका हुँदै पूर्वतर्फ आउँदै गरेको यूपी १७ एपी २११४ नम्बरको एलपी ग्यास लोड बुलेट ट्रक स्टेरिङ जाम भएर अनियन्त्रित हुँदा सडकको बीचमै दुर्घटना भएको थियो ।
दुर्घटनामा भारतको कदोरमा जयनगर थानाका ३७ वर्षीय चालक पवन यादव घाइते भएका थिए । ग्यास लिक र आगलागीको जोखिमका कारण तत्कालै हटाउन सकिने उपकरण तथा तयारी अभावले सडक खुलाउन ढिलो भएको थियो । सरकारी संयन्त्रसँग यस्ता दुर्घटनामा प्रयोग हुने उपकरण नहुँदा समस्या भएको थियो । २४ घण्टापछि सबै ग्यास बाहिर निकालेपछि मात्रै ट्यांकर सडकबाट उठाएको थियो ।
उक्त बुलेट ट्यांकर राजमार्गबाट उठाएर ल्याएको चार महिना बितिसक्दा पनि सवारीधनी लिन नआएको जिल्ला ट्राफिक प्रहरी प्रमुख राजेन्द्र थापामगरले बताए । ‘हामीले त्यसैबेला चालकमार्फत खबर पठाएका हौं । तर अहिलेसम्म लिन आएका छैनन्,’ उनले भने,‘कार्यालय अगाडि ट्यांकर अलपत्र अवस्थामा छ । न हटाउनु न राख्नु भएको छ । यसको जानकारी माथिल्लो निकायमा गराइसकेका छौं ।’ भारतीय सामान भएकाले ट्राफिकले अन्यत्र राख्ने प्रक्रिया अघि बढाउन नसकेको जनाएको छ ।
