नार्कको स्थापना दिवसमा जनशक्ति अभावकै चिन्ता

‘उद्यमशीलता र रोजगारीको लागि कृषि अनुसन्धान र नवप्रवर्तन’ नारासहित परिषद्ले शुक्रबार स्थापना दिवस मनाएको हो ।

वैशाख २६, २०८३

शंकर आचार्य

Concerns over manpower shortage on NARC's founding day

What you should know

पर्सा — नेपाल कृषि अनुसन्धान परिषद्को ३५ औं वार्षिक स्थापना दिवसमा सहभागी वक्ताहरुले कृषि अनुसन्धान निर्देशनालय परवानीपुरमा जनशक्ति अभाव भएकाेमा चिन्ता व्यक्त गरेका छन् ।  

‘उद्यमशीलता र रोजगारीको लागि कृषि अनुसन्धान र नवप्रवर्तन’ नारासहित परिषद्ले शुक्रबार स्थापना दिवस मनाएको हो । निर्देशनालयका पूर्वनिर्देशक अनिसुर रहमान अन्सारीले सीमित जनशक्तिबाट अनुसन्धान र नवप्रवर्तन सफल हुनेमा चिन्ता व्यक्त गरे । उनले आफू प्रमुख हुँदा हालको तुलनामा ५ गुना बढी जनशक्ति हुँदा समेत जनशक्तिको कमी महशुस भएकाे बताए । 

अर्का वक्ता पूर्व कर्मचारी हरिहर प्रसादले निर्देशनलायको मुख्य जिम्मेवारी नै अनुसन्धान रहेकाले हालको सीमित जनशक्तिबाट त्यो कुनै पनि हालतमा सम्भव नहुने बताए । निर्देशनालयका निर्देशक डा‍‍. बीपी यादवले निर्देशनालयमा हाल ७६ को दरबन्दी रहे पनि २० कर्मचारीले धानेको बताए । उनले २५ वैज्ञानिकको दरबन्दी रहेकोमा ३, १८ प्राविधिक अधिकृतको दरबन्दी रहेकोमा ३ उपलब्ध रहेको बताए ।

त्यसैगरी, प्राविधिक चौथो स्तरका र प्राविधिक पाँचौं स्तरका ६/६ कर्मचारीको दरबन्दी रहेकोमा दुबै खाली रहेको छ । अन्य पद अप्राविधिक पदका कर्मचारी छन् ।

सीमित जनशक्तिकै भरमा पनि निर्देशनालयले लक्ष्य भन्दा बढी उपलब्धि हासिल गरेको दाबी डा यादवको छ । यस वर्ष अनुसन्धान र बिउबिजन प्रयोजनका लागि ५८ टन धान उत्पादन गर्ने लक्ष्य रहेकोमा ६० टन उत्पादन गरेको उनले  बताए । २८ टन गहुँ उत्पादनको लक्ष्य रहेकोमा ३२ टन, ६ सय किलो मुसुरो उत्पादनको लक्ष्य रहेकोमा १ हजार ६ सय किलो उत्पादन गरिएको उनले बताए । त्यसैगरी, ७० लाख माछाको भुरा उत्पादनको लक्ष्य रहेकोमा १ करोड ७ लाख भुरा उत्पादन गरिएको उनले बताए ।

यसै वर्षदेखि निर्देशनालय परिसरमा भैंसी र बाख्रा अनुसन्धान कार्यक्रम पनि सुरु गरिएको उनले जानकारी दिए । ‘सीमित जनशक्ति हुँदा पनि हामी सक्दो अध्ययन अनुसन्धान र नवप्रवर्तनमा प्रयासरत छौं,’ उनले भने, ‘हाम्रो कामको समय तालिका छैन, हामी कार्यालय समयबाहेक पनि काममा लागेकै हुन्छौं ।’  उक्त अवसरमा निर्देशनालय परिसरमा वृक्षारोपण समेत गरिएको थियो । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully