महोत्सवमा मधेश प्रदेशका आठ जिल्लाका न्यायाधीश, कानुन व्यवसायी, स्थानीय तहका प्रतिनिधिसहित एक हजार सर्वसाधारणको सहभागितामा न्याय प्रणालीबारे छलफल तथा अनुभव आदानप्रदान गरिनेछ।
जनकपुर — उच्च अदालत जनकपुरले कानुन दिवसको अवसरमा शनिबार पहिलो पटक न्यायिक महोत्सवको आयोजना गर्दैछ । दिनभर चल्ने महोत्सवमा अदालत, न्याय र कानुनसँग सम्बन्धित गतिबिधि समेटिएको छ ।
उच्च अदालतले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा कामु मुख्य न्यायाधीश टेकनारायण कुँवरले जनकपुरको महेन्द्र नारायण निधि मिथिला संस्कृति भवनमा आयोजना हुने न्यायिक सम्मेलनमा करिब १ हजार जनाको सहभागिता रहने बताए ।
मधेश प्रदेशका ८ जिल्लाकै न्यायाधीश, कानुन व्यवसायी, स्थानीय तहका प्रमुख–उपप्रमुख, न्यायिक समितिका सदस्य तथा सर्वसाधारणको सहभागिता रहने कुँवरले जानकारी दिए । ‘न्यायिक महोत्सवमा मिट द जज कार्यक्रममा सर्वसधारण र विद्यार्थीले न्यायाधीशसँग प्रत्यक्ष भेटघाट र संवाद गर्नेछन्,’ मुख्य न्यायाधीश कुँवरले भने,‘कानुनका विद्यार्थी र न्यायाधीश कार्यक्रमअन्तर्गत विद्यार्थीका लागि व्यवहारिक ज्ञान र अनुभव आदानप्रदान गरिनेछ ।’
उनका अनुसार महोत्सवमा बार र बेन्च कार्यक्रममा कानुन व्यवसायी र अदालतबीचको समन्वय र सुधारका विषयमा छलफल हुनेछ ।
यस्तै, स्थानीय न्यायिक समिति र अदालत कार्यक्रममा पालिकाका न्यायिक समिति र अदालतबीचको कार्यगत सम्बन्धबारे अन्तरक्रिया गरिने कुँवरले जानकारी दिए । न्यायिक महोत्सवमा विभिन्न क्याम्पसको शैक्षिक स्टल, बिभिन्न सरकारी कार्यालयको सेवा र जानकारीमूलक स्टल र कानुनी पुस्तक र न्यायिक प्रक्रियाबारे जानकारी दिने प्रदर्शनी राखिने भएको छ ।
