निष्क्रिय सहकारीको दर्ता खारेज गर्ने वीरगन्ज महानगरको तयारी

महानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै आफ्नो क्षेत्राधिकारभित्र संचालनमा रहेका ८८ वटा सहकारी संस्थाले कानुनी दायित्व पूरा नगरेको, आर्थिक कारोबार बन्द गरेकोले दर्ता खारेजी प्रक्रिया सुरु गरिएको जनाएको हो ।

वैशाख २५, २०८३

शंकर आचार्य

Birgunj Metropolitan City prepares to cancel registration of inactive cooperatives

पर्सा — लामो समयदेखि निष्क्रिय रहेका सहकारी संस्थामाथि कारबाही प्रक्रिया अघि बढाउदै वीरगन्ज महानगरपालिकाले ८८ वटा सहकारी संस्थाको दर्ता खारेजी गर्ने तयारी गरेको छ ।

महानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै आफ्नो क्षेत्राधिकारभित्र संचालनमा रहेका ती सहकारी संस्थाले कानुनी दायित्व पूरा नगरेको, आर्थिक कारोबार बन्द गरेको तथा प्रक्रिया पालना नगरेकाले दर्ता खारेजी प्रक्रिया सुरु गरिएको जनाएको हो । 

महानगर प्रमुख राजेशमान सिंहका प्रेस सल्लाहकार नवराज फुयालका अनुसार सम्बन्धित सहकारी संस्थाहरूले नियमित मासिक प्रगति प्रतिवेदन पेश गरेका छैनन् भने वार्षिक साधारण सभा आयोजना नगरेको, लेखापरीक्षण प्रतिवेदन नबुझाएको तथा कोपोमिस प्रणालीमा विवरण प्रविष्टि नगरेको पाइएको छ । लामो समयदेखि संस्थाहरू पूर्णरूपमा निष्क्रिय र सम्पर्कविहीन रहेको उनले बताए । 

महानगरपालिकाको सहकारी शाखाले मिति २०८२ चैत १२ को निर्णयअनुसार कारबाही प्रक्रिया सुरु गरेको हो। सहकारी अभियानको मर्मविपरीत गतिविधिमा संलग्न रहेको विषय विभिन्न सञ्चारमाध्यममार्फत सार्वजनिक भएपछि छानबिन प्रक्रिया अघि बढाइएको फुयालले बताए । 

वीरगन्ज महानगरपालिकाले सहकारी ऐन, २०७४ को दफा ६६ उपदफा (३) बमोजिम कारबाही प्रक्रिया सुरु गरिएको र ऐनकै दफा ६६ उपदफा (४) अनुसार सम्बन्धित संस्थालाई स्पष्टीकरण तथा सुनुवाइका लागि ३५ दिने सूचना जारी गरेको छ । 

महानगरपालिकाले सम्बन्धित सबै सहकारी संस्थालाई तोकिएको समयभित्र आवश्यक कागजात तथा विवरण पेश नगरे दर्ता खारेजी प्रक्रिया अगाडि बढाइने चेतावनी समेत दिएको छ ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully