सिरहामा सरकारी तथा सार्वजनिक जग्गा खाली गराउने तयारी

जिल्लाभित्र अतिक्रमणमा रहेका सार्वजनिक तथा सरकारी जग्गाको पहिचान र त्यस्ता जग्गामा बसोबास गरिरहेका व्यक्तिहरूको पहिचान गर्न स्थानीय तहलाई सूचनामा आग्रह गरिएको छ ।

वैशाख २३, २०८३

विनय आजाद

Preparations to vacate government and public land in Siraha

सिरहा — यहाँका सरकारी तथा सार्वजनिक जग्गा खाली गराउने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालय, सिरहाले एक सूचना जारी गर्दै जिल्लाका स्थानीय तह र सम्बन्धित निकायलाई यसका लागि आवश्यक प्रक्रिया थाल्न आग्रह गरेको हो ।

जिल्लाभित्र अतिक्रमणमा रहेका सार्वजनिक तथा सरकारी जग्गाको पहिचान र त्यस्ता जग्गामा बसोबास गरिरहेका व्यक्तिहरूको पहिचान गर्न स्थानीय तहलाई सूचनामा आग्रह गरिएको छ । यसरी वास्तविक सुकुमवासीको पहिचान भएपछि उनीहरूलाई सुरक्षित आवास, स्वास्थ्य, खाद्य तथा अन्य आधारभूत सुविधासहित वैकल्पिक व्यवस्थापनको योजना बनाउन भनिएको छ ।

यसपछि स्थानीय तहले जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालासँग समन्वय गरी अतिक्रमण हटाउने कार्य सुरु गर्ने सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए । अतिक्रमण हटाउँदा आम नागरिकलाई सुसूचित गरिने पनि उनले बताए ।

जिल्ला प्रशासन कार्यालयले यसक्रममा कसैलाई पनि असुरक्षित रूपमा विस्थापित नगरिने र वास्तविक सुकुम्बासीलाई सुरक्षित तथा व्यवस्थित ढंगले पुनर्स्थापना गरिने भन्दै यसमा सबैलाई सहयोग गर्न आग्रह गरेको छ ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully