डिभिजन सडक कार्यालय हेटौंडाका इन्जिनयिर भोला साहका अनुसार गण्डकतर्फबाट नापी सुरु गरिएकामा मंगलबार मितेरी पुलसम्म गरी ८ किलोमिटर त्रिभुवन राजपथको केन्द्रबिन्दु निर्धारण गर्ने काम सम्पन्न गरिएको हो ।
What you should know
पर्सा — त्रिभुवन राजपथको मुख्य सडक विस्तारका लागि सडकको केन्द्रबिन्दु निर्धारण गर्ने काम वीरगन्जमा सम्पन्न भएको छ । गत मंगलबारदेखि सुरु गरिएको काम एक सातामा सम्पन्न भएको हो ।
डिभिजन सडक कार्यालय हेटौंडाका इन्जिनयिर भोला साहका अनुसार गण्डकतर्फबाट नापी सुरु गरिएकामा मंगलबार मितेरी पुलसम्म गरी ८ किलोमिटर त्रिभुवन राजपथको केन्द्रबिन्दु निर्धारण गर्ने काम सम्पन्न गरिएको हो । यो काममा कार्यालयका प्राविधिकसँगै नापी कार्यालय वीरगन्ज, वीरगन्ज महानगरपालिका, जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्साको प्राविधिक कर्मचारीसहितको संयुक्त टोली खटिएको थियो । ।
टोलीले त्रिभुवन राजपथको आधिकारिक मापदण्डअनुसार सडकको केन्द्रबिन्दु पहिचान गरी सो स्थानमा स्टिलका किला गाड्ने काम गरेको थियो । टोलीले मापदण्डअनुसार नै राजमार्गको मध्यबाट २५/२५ मिटर दायाँबायाँ मापन गरेको साहले जानकारी दिए । वैशाख ६ र ७ मा राजपथ विस्तारका क्रममा राजपथछेउका संरचना हटाइए पनि राजपथको वास्तविक केन्द्रबिन्दु स्पष्ट नभएकाले स्थानीय घरधनीमा यस सम्बन्धमा अन्योल थियो । आ-आफ्नो भौतिक संरचना कहाँसम्म हटाउनुपर्ने हो भन्ने विषयमा अधिकांश अन्योलग्रस्त थिए । दुई दिनमा गरी डिभिजन सडक कार्यालयले १ हजार २ सय संरचनामा प्रारम्भिक चरणको डोजर चलाएको थियो ।
अब राजपथको मध्यबिन्दु निर्धारण भएसँगै घर भत्काइएका घरधनीलाई पनि आफूले हटाउनुपर्ने संरचनाबारे यकिन हुन गएको छ । भत्किएको र बाँकी भत्काउनु पर्ने संरचना घरधनीले आफैं भत्काएर हटाउनुपर्ने छ । कार्यालयले हालसम्म घरधनीहरूलाई संरचना हटाउन समयसीमा नदिएको पनि इन्जिनियर साहले बताए । ‘घरधनीहरूले आफैं आफ्नो संरचना हटाइरहेकाले यस्तो नगरिएको हो,’ उनले भने, ‘अब नापीको काम सम्पन्न भएपछि ६ लेनको राजमार्ग बनाउन इष्टिमेट र डिजाइन हुँदै छ, बाँकी काम क्रमशः अघि बढनेछ ।’
