पुलसम्म सडक सञ्जाल नहुँदा केही स्थानीयले त्यही तारजाली काँटेर खेल मैदान हुँदै विद्यालयको गेटबाट बजारसम्म आवतजावत गर्छन् । विद्यालयका प्रधानाध्यापक मोहन मिश्रले पनि खेल मैदानको दक्षिणतर्फ कुनै किसिमको सार्वजनिक बाटो नरहेको बताए ।
What you should know
राजविराज — सप्तरीको राजविराज नगरपालिका–५ सरस्वती टोलमा बजेट खर्च गर्नैका लागि भलुवाही खोलामा फलामे पुल निर्माण गरेको पाइएको छ ।
संघीय सरकारको ससर्त अनुदानमा यसअघिका जनप्रतिनिधिको पालादेखि नै सो पुल निर्माण कार्य सुरु भएको थियो । अहिलेका जनप्रतिनिधि निर्वाचित भएर आएपछि पनि त्यहाँ दुईपटक ससर्त अनुदानको बजेट गरी ३५ लाखभन्दा बढी खर्चेर पुल निर्माण भएको हो ।
तर, नगरपालिकाबाटै भुक्तानी हुँदासमेत स्थानीय जनप्रतिनिधिलाई फलामे पुल किन र कुन उद्देश्यले निर्माण गरिएको हो भन्ने विषयमा जानकारी नभएको बताए । त्यहाँ पुल निर्माण भएको हेर्दा उनीहरू पनि अनौठो मानिरहेका छन् । वडाध्यक्ष बन्धुलाल दासले त्यहाँ फलामे पुल निर्माणको कुनै औचित्य नरहेको बताए । ‘पुल बनाउँदा हामीसँग कुनै प्रकारको समन्वय वा सल्लाह गरिएन,’ उनले भने, ‘त्यहाँ हाम्रै वडाका स्थानीय बसोबास गरिरहँदा पनि सिमाना भने ११ नम्बरको वडामा पर्छ । त्यता सोधेका हुन सक्छन् ।’
वडा नम्बर ११ का अध्यक्ष उदितनारायण यादवले पनि कसले र कुन उद्देश्यले सो फलामे पुल बनाएको हो भन्ने विषय आफ्नो जानकारीमा नरहेको बताए । ‘बाटो नभएको ठाउँमा पुल बनाएर कसलाई फाइदा हुन्छ ? यो बजेट खर्च मात्रै हो,’ उनले थपे, ‘पुल मैले देखेको छु तर कसले र कहिले बनाएको हो भन्ने जानकारी छैन ।’ वडा नम्बर ५ का निवर्तमान वडाध्यक्ष समीरकुमार झाले आफूहरूको कार्यकालमा पुल निर्माण प्रक्रिया सुरु भएको विषय स्मरणमा रहेको बताए । ‘तर, त्यही स्थानमा पुल बनाउने वा उपभोक्ता समिति गठन गर्ने/गराउने विषयमा त्यो बेला हामीसँग छलफल भएको थिएन,’ उनले भने, ‘हाम्रो कार्यकाल समाप्त भइसकेको बेला अन्य प्रक्रिया पूरा भएर पुल बनेको हुन सक्छ ।’
पुलदेखि पश्चिमतर्फ सडक नै छैन । पूर्वतर्फ पनि पैदल हिँडडुल गर्ने बाटो रहे पनि हरेक वर्ष असार मसान्तमा हतार–हतार गरी निर्माण गर्दा सो पुलको मुखमै बिजुलीको पोल छ । पुल चढेर पश्चिमतर्फ निस्किँदा सय मिटरको दूरीमा पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको तारजालीले घेरा लगाइएको खेल मैदान छ । 
पुलसम्म सडक सञ्जाल नहुँदा केही स्थानीयले त्यही तारजाली काँटेर खेल मैदान हुँदै विद्यालयको गेटबाट बजारसम्म आवतजावत गर्छन् । विद्यालयका प्रधानाध्यापक मोहन मिश्रले पनि खेल मैदानको दक्षिणतर्फ कुनै किसिमको सार्वजनिक बाटो नरहेको बताए । ‘हामीले दिनभरि तारजाली रेखदेख गरिरहँदा पनि राति–राति तारजाली काटेर क्षति पुर्याइरहेका छन्,’ उनले भने, ‘त्यहाँ कुनै किसिमको सार्वजनिक बाटो वा सडक छैन भने बाटो बन्नका लागि पनि हामीले कसैलाई सहमति दिएका छैनौं ।’
पुलपारिको टोललाई राजविराज बजारसम्म जोड्ने सडक सञ्जालको भने अभाव छैन । शिक्षा विकास तथा समन्वय इकाइ अगाडिको सडक हुँदै सो टोलसम्म पुग्न फलामे पुलदेखि २ सय मिटर दक्षिणतर्फ नै पक्की पुल छ । त्यही सडक उनीहरूको मुख्य बाटो पनि हो । पक्की पुलबाट नै त्यहाँका स्थानीय सवारी साधनसहित बजारसम्म आउजाउ गर्छन् ।
पुलका लागि निर्माण सामग्री आपूर्तिकर्ता सुन्दर कन्स्ट्रक्सन प्रालिका सञ्चालक राजकुमार यादवले आफूले फलामका सामग्री मात्रै आपूर्ति गरेको र अन्य विषय उपभोक्ता समितिलाई जानकारी हुनुपर्ने बताए । ‘जहाँसम्म मलाई याद छ, त्यो बेला स्थानीय नेताहरूले त्यहाँ बाटो खुलाउँछौं भनेपछि पुल बनेको हो । पश्चिमतिर अहिले पनि सानो गल्लीको बाटो छ तर त्यो बाटोलाई फराकिलो बनाउन सकिएको छैन,’ उपभोक्ता समितिमा को–को थिए भनी प्रश्न गर्दा उनले भने, ‘मेरो जानकारीमा उपभोक्ता समितिआबद्ध सबै व्यक्ति बाहिर छन् । समितिमा भएकाहरूको नाम मलाई स्पष्ट भएन ।’
त्यस विषयमा थप बुझ्न कार्यवाहक नगर प्रमुख इसरत परविनलाई पटक–पटक सम्पर्क गर्दा फोन उठेन । नगरपालिकाका सूचना अधिकारी सुरेशकुमार यादवले त्यहाँ पुल बनेको विषयमा आफूलाई जानकारी नरहेको बताए । ‘यस विषयमा मैले पनि थप बुझ्नैपर्छ,’ उनले भने ।
