हत्या आरोपीलाई उन्मुक्ति दिन खोजिएको भन्दै अदालतबाहिर धर्ना

अदालतको गेटबाहिर पीडितका आफन्त र स्थानीय युवा 'हत्यारालाई कारबाही गर्, मृतक शेख मतिनलाई न्याय दे, अन्यायको अन्त्य गर्, पीडितलाई न्याय दे' लेखिएका प्लेकार्ड बोकेर दिनभर धर्नामा बसेका छन् ।

वैशाख २२, २०८३

शिव पुरी

Protest outside court over alleged attempt to acquit murder accused

What you should know

रौतहट — परोहा नगरपालिका–२, जिंगडवाका ६५ वर्षीय शेख मतिनको हत्याका आरोपितलाई उन्मुक्ति दिन लागिएको भन्दै परिवारजन र आफन्तहरू सोमबार न्यायको माग गरिएका प्लेकार्ड र मनमा आक्रोश बोकेर जिल्ला अदालतको गेट नजिक धर्नामा बसे । 

पीडितलाई न्याय दिलाउने अन्तिम आश्रयस्थल मानिने अदालतको गेटबाहिर पीडितका आफन्त र स्थानीय युवा 'हत्यारालाई कारबाही गर्, मृतक शेख मतिनलाई न्याय दे, अन्यायको अन्त्य गर्, पीडितलाई न्याय दे' लेखिएका प्लेकार्ड बोकेर दिनभर धर्नामा बसेका हुन् । 

मृतका आफन्त शेख असिमका अनुसार २०८१ चैत २१ गते रौतहटको परोहा नगरपालिका–२ मा छलफल भइरहँदा सामान्य कुरालाई लिएर ६५ वर्षीय मतिनलाई स्थानीय शेख फजले हक, शेख नथुनी, शेख जावेद, मासुम, शेख सकिल र शेख रोज महम्मद मिलेर निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर मतिनलाई उपचारका लागि गरुडा, चन्द्रनिगाहपुर र थप उपचारका लागि वीरगन्ज लगिएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि तत्कालै काठमाडौं लैजाँदै गर्दा चैत २३ गते बाटोमै उनको मृत्यु भएको असिमले जानकारी दिए । 

घटनामा संलग्न ६ जनाविरुद्ध इलाका प्रहरी गरुडामा कर्तव्य ज्यान कसुरमा जाहेरी दर्ता गराइएको मृतकका छोरा सदरे आलमले बताए । ‘हामीले बुवाको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दर्ता गराउन निकै सास्ती भोग्नु पर्‍यो,’ उनले भने, ‘अहिले पनि रातारात एक जनालाई गरुडा प्रहरीले हाजिर गराएको छ । यसको छानबिन हुनुपर्छ ।’

घटनापछि  फरारमध्ये परोहा नगरपालिका–१ का शेख रोज महम्मद एक साताअघि राती हाजिर भएपछि पीडितले शंका गरेका छन् । प्रहरीमाथि शंका लागेको र पीडकको बयानसहित मिसिल कमजोर बनाएको भन्ने सुन्नमा आएकाले दबाबका लागि अदालत बाहिर खबरदारीसहित धर्ना दिएको पीडित सदरे आलमले सुनाए । इलाका प्रहरी गरुडाका डीएसपी शंकरप्रसाद आचार्यले शेख मतिनको मुद्दामा पीडितलाई न्याय दिलाउन कुनै कसर बाँकी नराखेको दाबी गरे ।

‘मिलेमतोमा रातारात हाजिर गराएको भन्ने आरोप सरासर गलत हो,’ उनले भने, ‘यो मुद्दामा कानुनबमोजिम सबै काम सकेर मिसिल बुझाएका छौं । यसमा कसैले शंका नगरे हुन्छ ।’ घटनापछि फरार शेख रोज महम्मदलाई सोमबार जिल्ला अदालतमा हाजिर गराए पनि बयान नसकिएकाले मंगलबार मात्र थुनछेक बहस हुने अदालतले जनाएको छ ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully