क्वालालम्पुरस्थित नेपाली राजदूतावासको सहयोगमा सदाको शव घर ल्याइएको हो ।
राजविराज — मलेसियामा मृत्यु भएका सप्तरीको विष्णुपुर गाउँपालिका–६ गोरगामाका ३२ वर्षीय मञ्जय सदाको शव २५ दिनपछि सोमबार बिहान घर आइपुगेको छ ।
क्वालालम्पुरस्थित नेपाली राजदूतावासको सहयोगमा सदाको शव घर ल्याइएको हो । उनको शवलाई सोमबार नै दाहसंस्कार गरिने परिवारले जनाएको छ ।
मृतक सदा १२ वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका थिए । त्यहाँ भने अनुसार काम र तलब नपाएका सदाले त्यहाँको काम छाडेर तफाध्दल सेक्युरिटी एसडीएन बीएचडीमार्फत फ्लास कम्पनीमा ‘राजिव बहादुर’ नामले काम गर्दै आएका थिए ।
पाँच साताअघि अचानक सिकिस्त विरामी परेका सदालाई केलाङस्थित तेंग्कु अम्पुअन राहिमह अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको गत चैत २६ गते मृत्यु भएको थियो ।
मृत्युको खबर पाएका सदा परिवारले उपचारवापत ७ लाख रुपैयाँ खर्च पठाउन नसक्दा ‘शव अड्किएको’ विषय ‘इकान्तिपुर’ले सार्वजनिक गरेको थियो । नेपाली राजदूतावासले सदा कार्यरत रहेका केलाङस्थित फ्लास कम्पनीसँग सम्पूर्ण खर्च तिर्न लगाएर कास्केट कम्पनीमार्फत शव पठाएको हो ।
