खर्च अभावमा १० दिनदेखि मलेसियामै अड्कियो सदाको शव

मलेसियामा निधन भएका सप्तरीका मञ्जय सदाको शव ल्याउन परिवारसँग खर्च अभाव भएको छ ।

वैशाख ५, २०८३

विद्यानन्द राम

Sadako's body has been stuck in Malaysia for 10 days due to lack of funds

What you should know

राजविराज — परिवारको गुजारा चलाउन सप्तरीको विष्णुपुर गाउँपालिका–६ गोरगामाका मञ्जय सदा वैदेशिक रोजगारीका लागि २० वर्षको उमेरमा मलेसिया पुगे ।

१२ वर्षअघि त्यहाँ पुगेका उनले भने अनुसारको काम र तलब पाएनन् । वैदेशिक रोजगारीमा जानका लागि गाउँलेसँग लिएको डेढ लाख रुपैयाँ तिर्न कठिन भइरहेको थियो । सदाले केही महिनामै त्यहीँको अर्को कम्पनीमा ‘सेक्युरिटी गार्ड’को काम गर्न थाले । 

नयाँ कम्पनीमा काम र तलब ठिकै थियो । विस्तारै ऋण तिर्दै बुवाआमा, श्रीमती र छोरी गरी परिवारका ४ जनाको गुजारा चलाइरहेका थिए । दुई साताअघि उनी अचानक विरामी परे । ३० वर्षकी श्रीमती शिवकुमारीलाई फोन गरेर छाती बेस्सरी दुखिरहेकाले २ दिनदेखि ‘ड्युटी’मा जान नसकेको सुनाए ।

शिवकुमारीले आराम गर्न भनिन् । ‘अर्को दिन त पखाला पनि लागेर फोनमा बोल्न सकिरहनुभएको थिएन अनि त्यहाँ नजिकै रहेका गाउँलेसँग गुहार मागेर हेर्न पठाए,’ उनले भनिन्, ‘गाउँले त्यहाँ पुग्दासम्म उहाँ एकदमै कमजोर भएर खाटबाट पनि उठ्नसक्ने अवस्थामा हुनुहुन्थ्यो ।’

Sadako's body has been stuck in Malaysia for 10 days due to lack of funds

उपचार गराइदिन गाउँलेलाई आग्रह गरेपछि अस्पताल पुर्‍याइदिएको शिवकुमारीले बताइन् । सदालाई २१ चैतमा कलानस्थित तेंग्कु अम्पुअन राहिमह हस्पिटल भर्ना गराए । त्यहाँ उपचारकै क्रममा उनको २६ चैतमा मृत्यु भयो । मृत्युको खबरपछि १० दिनदेखि शिवकुमारी अचेत छिन् । घटनाले ५४ वर्षका बुवा बुधन र ५२ वर्षकी आमा मौनीदेवीको पनि आँशु रोकिएको छैन् ।

अझ शव कहिलेसम्म पाउने विषय टुंगो नहुँदा सदा परिवार थप चिन्तामा डुबेका छन् । उपचार र औषधि खर्च तिर्न नसक्दा सदाको शव अहिले सोही हस्पिटलमा रहेको छ । हस्पिटलको बिल तिर्न र शव घर पठाउने प्रक्रिया पूरा गर्न ७ लाख रुपैयाँ खर्च हुने मञ्जयका साथीहरुबाट परिवारले जानकारी पाएको छ । तर, ऐलानी जग्गामा बसोबास गरिरहेको सदा परिवारसँग आम्दानीको अन्य स्रोत नहुँदा जुटाउन सकेका छैनन् । ‘सबैतिर गुहार गरे तर पैसाको जोहो हुन सकेन,’ सदाकी आमा मौनीदेवीले भनिन्, ‘पैसाको जोहो हुन नसक्दा १० दिनदेखि निदाउन सकेको छैन् ।’ 

Sadako's body has been stuck in Malaysia for 10 days due to lack of funds

परिवारलाई सदा ‘सेक्युरिटी गार्ड’को काम गरिरहेका कम्पनीको नामसमेत थाहा छैन् । ‘छोराले उताउता भौतारिँदै काम गरिरहेको छु भनेर सुनाउँथ्यो,’ उनले भनिन् । छोराको शव ल्याउन सहयोग गरिदिन उनले आग्रह गरेकी छिन् ।  

वडाध्यक्ष परमानन्द यादवले सदा परिवारबाट आएको निवेदन अनुसार शव ल्याउने पहल गरिदिन प्रमुख जिल्ला अधिकारीसमक्ष सिफारिस पठाएको बताए । ‘स्थानीय स्तरबाट हुनसक्ने सबैखाले सहयोग गर्न हामी तयार छौं,’ उनले भने, ‘शव ल्याउनमा सहयोग गरिदिन नेपाल सरकार र परराष्ट्र मन्त्रालयसँग पनि आग्रह छ ।’ सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले त्यस विषयमा कन्सुलर सेवा विभागमा पत्राचार गरेर जानकारी गराइसकेको बताए । 

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully