बोक्सीको आरोपमा एकल महिलामाथि ज्यादती

१४/१५ जनाको समूहमा आएकाले आफूलाई लछारपछार पार्दै कुटपिट गरी मलमूत्र ख्वाएको पीडित महिलाले प्रहरीसमक्ष बताएकी छन् ।

वैशाख २०, २०८३

शिव पुरी

Single woman raped on charges of witchcraft

What you should know

रौतहट — कटहरिया नगरपालिका–९ की ५५ वर्षीया एकल महिलामाथि अमानवीय व्यवहार भएको छ । छिमेकीले बोक्सीको आरोप लगाउँदै ती महिलालाई कुटपिट गर्नुका साथै जबरजस्ती मलमूत्र ख्वाएको घटना सार्वजनिक भएको हो । घटनापछि प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको छ । 

पीडितका अनुसार छिमेकी गौरीशंकर साहसहितको समूहले नाबालकलाई बोक्सी मन्तर लगाएर बिरामी पारेको आरोप लगाएका थिए । सोही विषयलाई लिएर आक्रोशित समूहले घरबाट लछारपछार पार्दै कुटपिट गरेको र चरम अपमान गर्दै अखाद्य वस्तु (मलमूत्र) ख्वाएको पीडित पक्षको भनाइ छ । घटनालगत्तै पीडित महिलाले न्यायका लागि इलाका प्रहरी गरुडामा जाहेरी दर्ता गराएकी थिइन् । घटनामा संलग्न रहेको आरोपमा छिमेकी शंकर माझीलाई पक्राउ गरेको जिल्ला प्रहरीका डीएसपी विष्णुप्रदीप बस्यालले जानकारी दिए । 

‘जाहेरीका आधारमा हामीले तत्काल अनुसन्धान अगाडि बढाएका छौं,’ उनले भने, ‘यस्तो अमानवीय कार्यमा जोकोही संलग्न भए पनि कानुनको दायरमा ल्याउँछौं ।’ नेपालको कानुनअनुसार बोक्सीको आरोपमा कसैलाई अपमान गर्ने, कुटपिट गर्ने वा अमानवीय व्यवहार गर्ने कार्य गम्भीर फौजदारी अपराध हो ।

प्रहरीका अनुसार बोक्सीको आरोप कसूर तथा सजाय ऐनबमोजिम यस्तो कार्य गर्नेलाई कैद र जरिवानाका साथै पीडितलाई क्षतिपूर्ति भराउने व्यवस्था छ । प्रहरीले यस घटनालाई गम्भीरतापूर्वक लिएको र दोषीलाई कडा कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ । प्रहरीले पीडित महिलाको पहिचान गोप्य राखेको छ । घटनामा संलग्न केही फरार रहेकाले तिनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पर्साबाट जन्ती आएका बेला १० वर्षीय बालकले वान्ता गरेपछि एकल महिलाले जादू–टुना गरेको आरोप लगाई दुर्व्यवहार गरेका थिए । १४/१५ जनाको समूहमा आएकाहरूले आफूलाई लछारपछार पार्दै कुटपिट र मलमूत्र ख्वाएको पीडित महिलाले प्रहरीसमक्ष बताएकी छन् । घटनापछि प्रहरी टोली पुगेर महिलालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लगेको थियो ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully