२६ जनाको दरबन्दी रहेको कार्यालय हाल ९ कर्मचारीले धानेका छन् ।
What you should know
पर्सा — उखु बाली क्षेत्रमा नयाँनयाँ अनुसन्धान गर्ने जिम्मेवारी बोकेको देशको एक मात्र राष्ट्रिय उखु बाली अनुसन्धान कार्यक्रम जीतपुर कर्मचारी अभाव झेल्दै आएको छ।
२६ जनाको दरबन्दी रहेको कार्यालय हाल ९ कर्मचारीले धानेका छन् । कार्यालयमा मुख्य बैज्ञानिकको १ दरबन्दी रहेकोमा उक्त दरबन्दी खाली रहेको छ । त्यसैगरी, विषयगत वैज्ञानिक ६ जनाको दरबन्दी रहेकोमा २ जना मात्र कार्यरत छन् । वरिष्ठ प्राविधिक अधिकृतको ३ दरबन्दी रहेकोमा तीन वटै खाली छन् ।
प्राविधिक सहायकको तीन दरबन्दी रहेकोमा २ जना मात्र कार्यरत छन् । प्राविधिक सहयोगीको ८ दरबन्दी रहेकोमा ४ मात्र कार्यरत छन् । प्रशासन सहयोगी, हेभी सवारी चालक र प्रमुख प्रशासन सहयोगीको १/१ दरबन्दी रहेकोमा तीन वटै खाली रहेको छ । लेखा अधिकृतको १ दरबन्दी रहेकोमा उनी रहेपनि उनले कृषि औजार अनुसन्धान केन्द्र रानिघाट वीरगन्जको पनि दोहोरो जिम्मेवारी पूरा गरिरहेका छन् ।
कार्यालय प्रमुख डा दिलराज यादव कार्यालयमा प्राविधिक जनशक्तिकै अभाव हुँदा कार्यालयको मुख्य उद्देश्य पूरा गर्न समस्या भइरहेको बताउँछन् । ‘कार्यालयको मुख्य उद्देश्य उखु बाली सम्बन्धी नयाँ नयाँ अनुसन्धान गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसका लागि अनुसन्धानको परियोजना, नव प्रवर्तन, सन्चालनसम्मको काम गर्नुपर्छ ।’ यसका साथै माटोको स्वास्थ्य र बालीमा लाग्ने रोग तथा कीरा सम्बन्धी अनुसन्धान गर्नुपर्ने भए पनि कार्यालयमा प्राविधिक जनशक्तिकै अभाव रहेकाले आफ्नो जिम्मेवारी वहन गर्न समस्या भइरहेको उनले बताए । ‘हामीलाई नयाँ प्रविधि विकास गर्न समस्या भइरहेको छ,’ उनले भने, ‘जनशक्ति अभावले हाम्रो कामको नतिजा जति आउनु पर्ने हो त्यति आउन सकिरहेको छैन ।’
