लहानस्थित प्रादेशिक अस्पतालमा कार्यरत डा. बृजेन्द्रकुमार साहको सरुवा भएको तीन महिना नाघेको छ । मधेश प्रदेशको स्वास्थ्य तथा तथा जनसंख्या मन्त्रालयले सरुवा गरेको तीन महिना नाघ्दा पनि उनी यहाँबाट जान मानेका छैनन् ।
सिरहा — लहानस्थित प्रादेशिक अस्पतालमा कार्यरत डा. बृजेन्द्रकुमार साहको सरुवा भएको तीन महिना नाघेको छ । मधेश प्रदेशको स्वास्थ्य तथा तथा जनसंख्या मन्त्रालयले सरुवा गरेको तीन महिना नाघ्दा पनि उनी यहाँबाट जान मानेका छैनन् ।
आठौं तहका मेडिकल अधिकृत साहलाई मन्त्रालयले २०८२ माघ २ मै सर्लाहीको मलंगवास्थित प्रादेशिक अस्पतालमा सरुवा गरेको थियो । लहानकै बासिन्दा उनी लहानमा जीवन रक्षा नामक आफ्नै अल्ट्रासाउन्ड क्लिनिक खोलेका छन् ।
सरकारी अस्पतालमा समय नै नदिने र आफ्नै क्लिनिकमा अधिकांश समय दिने गरेको स्थानीयको गुनासोपछि मन्त्रालयले उनको त्यहाँबाट सरुवा गरेको थियो । कानुनतः सरुवा भएको २१ दिनभित्र खटाइएको ठाउँमा हाजिर भइसक्नुपर्छ भने तीन महिनासम्म पनि हाजिरी नहुनेलाई बर्खास्तीसम्मको कारबाही व्यवस्था छ ।
तर, अहिलेसम्म उनी अटेर गरी लहानमै बस्दै आएका छन् । आफ्नो घर लहानमै भएको र आफ्नो आवश्यकता पनि लहानमै भएकोले सरुवा भएको ठाउँमा नगएको उनको साहको भनाइ छ ।
यसरी उनले अटेरी गरिरहँदा मन्त्रालयले आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडी बढाउनुको साटो उनी आफैं हाजिर हुने भन्दै कुरेर बसेको छ । स्वस्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल रायले उनी अब हाजिर हुने र नभए कारबाही अघि बढ्ने बताए ।
'उहाँ अहिलेसम्म हाजिर नभएको मलाई जानकारी छ, अब उहाँ हाजिर भइहाल्नुहुन्छ होला,' मन्त्री रायले कान्तिपुरसित भने, 'यदि हाजिर हुनुभएन भने हामी मन्त्रालयमा बोलाएर स्पष्टीकरण लिन्छौं, कारबाही अघि बढ्छ ।' यस विषयमा मन्त्रालयका सचिव डा. प्रमोद यादवसँग प्रतिक्रिया लिन पटक-पटक प्रयास गर्दा पनि उनी सम्पर्कमा आएनन् ।
