पहिलो दिन पर्सा जिल्लाका विभिन्न स्थानीय तहमा अतिक्रमित गण्डक नहरको जग्गालाई अतिक्रमणमुक्त बनाइएको हो।
पर्सा — जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा आइतबारदेखि सुरू गरिएको अभियानअन्तर्गत पहिलो दिन गण्डक नहर क्षेत्र अतिक्रमण गरेर बनाइएका ३ सय २५ भौतिक संरचनाहरू हटाइएका छन्। बिहानैदेखि डोजर प्रयोग गरी यो अभियान सुरू गरिएको थियो। यस क्रममा पहिलो दिन पर्सा जिल्लाका विभिन्न स्थानीय तहमा अतिक्रमित गण्डक नहरको जग्गालाई अतिक्रमणमुक्त बनाइएको हो।
नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्जका सूचना अधिकृत इन्जिनियर सुरेश साहका अनुसार, यो अभियानमा कार्यालयको एउटा, यान्त्रिक सिँचाइ व्यवस्थापन कार्यालयको एउटा र विभिन्न स्थानीय तहका २ गरी चार डोजर परिचालन गरिएको थियो।
'२ वटा डोजरले गण्डक नहर नेपालमा प्रवेश गरेको स्थान जगरनाथपुर गाउँपालिकादेखि सखुवा प्रसौनी गाउँपालिकाको महुवनसम्म र २ वटा डोजरले वीरगन्जको गण्डक चोकदेखि महुवन चोकसम्म अतिक्रमित संरचना भत्काएर पर्सा जिल्लामा अभियान सम्पन्न गरेका छन्,' उनले भने, 'सोमबार बारा जिल्लातर्फ अतिक्रमण हटाउने अभियान सञ्चालन गरिनेछ।' यस क्रममा अतिक्रमण गर्नेहरूबाट कुनै बाधा–विरोध नभएको साहले बताए।
साहका अनुसार, महुवनमा ४० परिवारले पारसनाथ मठको जग्गा अतिक्रमण गरी घर बनाएकोमा ती संरचना पनि यसै क्रममा भत्काइएका छन्। विगतमा नहरको जग्गामा अतिक्रमण नरहेकोमा २०४६ को परिवर्तनपछि अतिक्रमण बढ्दै गएर पछिल्लो समय चरम बिन्दुमा पुगेको थियो। नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले पटक–पटक अतिक्रमण हटाउने प्रयास गरेकोमा त्यो सफल हुन सकेको थिएन।
स्थानीय प्रशासनले ३ दिनअघि नै सार्वजनिक सूचना जारी गरी नहरको जग्गामा निर्माण गरिएका संरचना हटाउन निर्देशन दिएपछि केही संरचना आफैं हटाइएको थियो।
