गंगापिपराका गौरीशंकर साह कलवारका पाँच वर्षीय छोरा कृष साहको आइतबार पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।
रौतहट — जिल्लाको दुर्गा भगवती गाउँपालिका–१ गंगापिपरास्थित एक पोखरीमा डुबेर पाँच वर्षीय बालकको मृत्यु भएको छ ।
गंगापिपराका गौरीशंकर साह कलवारका पाँच वर्षीय छोरा कृष साहको आइतबार पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।
प्रहरीका अनुसार साँझ करिब ६ बजे घरबाट झण्डै एक किलोमिटर टाढा रहेको ब्रह्मस्थानको पोखरीमा नुहाउन गएका बेला कृष डुबेर बेपत्ता भएका थिए । त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बालकको खोजीमा स्थानीयसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खटिएको थियो ।
टोलीले बालकलाई पोखरीबाट उद्धार गरी उपचारका लागि स्थानीय बागमती सेन्ट्रल अस्पताल गंगापिपरा लगेकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरीका डीएसपी विष्णुप्रदीप बस्यालले बताए । बालकको शवको प्रादेशिक अस्पताल गौरमा पोस्टमार्टम गरिएको छ ।