सप्तरीका नापी प्रमुखलाई लाभग्राहीको गुनासो-‘लालपुर्जावापत कर्मचारीले घुस लिए’

डाक्नेश्वरी–९ मा लालपुर्जा वितरण कार्यक्रममा स्थानीयले ५ देखि १४ हजार रुपैयाँसम्म घुस लिएको आरोप लगाउँदै कर्मचारीमाथि आक्रोश व्यक्त गरे ।

वैशाख १३, २०८३

विद्यानन्द राम

Beneficiary complains to Saptari survey chief - 'Employee took bribe for red certificate'

What you should know

राजविराज — नापी कार्यालयले डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढामा गाउँ ब्लक जग्गामा बसोबास गरिरहेका स्थानीयलाई जग्गाधनी दर्ता प्रमाणपत्र (लालपुर्जा) वितरण गर्न कार्यक्रम आयोजना गर्‍यो । शनिबार दिउँसो आयोजना गरिएको उक्त कार्यक्रममा नगरप्रमुख रामलखन मलाहदेखि क्षेत्र नम्बर ३ का सांसद अमरकान्त चौधरीसम्म सहभागी थिए । 

कार्यक्रम सुरु हुनुअघि नै सरसापटी गरेर ५ देखि १४ हजार रुपैयाँसम्म तिर्नु परेको भन्दै गाइँगुइँ चलिरहेको थियो । भूमि समस्या समाधान आयोग जिल्ला समिति सप्तरीका विज्ञ सदस्य पञ्चदेव चौधरी, पूर्वनगर प्रमुख शिवनारायण साह, नगरप्रमुख मलाह, सांसद चौधरीले आफ्नो कुरा राखे । बोल्ने पालो नापीका प्रमुख शत्रुघ्नप्रसाद यादवको आयो । उनले सम्बोधनका क्रममा भने, ‘नापीमा काम गराउन कसैले पैसा मागेमा सिधैं मलाई फोन गर्नुहोला ।’ यादवको वाक्य पूरा नहुँदै लाभग्राही स्थानीयले ‘नम्बर कति हो ?’ भन्दै सोध्न थाले । यादवले नम्बर दिएर वाट्सएप, फोन वा म्यासेज गर्न भने । 

यादवले फेरि आफ्ना कुरा राख्न खोज्दा कार्यक्रमका सहभागी लाभग्राही स्थानीयले हल्ला गर्दै भन्न थाले, ‘लालपुर्जाका लागि हामीसँग ५ हजार रुपैयाँ लिनुभएको छ । पैसा तिर्नेलाई यही हात उठाउन भन्नुस् । सबै कुरा स्पष्ट भइहाल्छ ।’ 

लाभग्राही विजुली पण्डितले भने, ‘लालपुर्जावापत अमिन श्रीप्रसाद यादवले ५ देखि १४ हजार रुपैयाँसम्म लिनुभएको छ । मेरो ९ धूर जग्गा मात्र छ तर ५ सय रुपैयाँ मात्र अपुग हुँदा पनि लिन मान्नुभएन । बाध्य भएर सरसापटी गरेर ५ हजार तिर्नुपर्‍यो ।’ 

कार्यक्रममा उपस्थित नगरप्रमुख मलाहदेखि सांसद चौधरीसम्म पनि लाभग्राहीको गुनासो सुनेर हेरेको–हेर्‍यै भए । लाभग्राही आक्रोशित देखिएपछि नापी प्रमुख यादवसहितका अन्य कर्मचारीलाई त्यहाँबाट निस्किन हम्मे परेको थियो ।

नापी प्रमुख यादवले आफ्ना कर्मचारीले गैरकानुनी लेनदेन गरेको प्रमाणित भए कानुन अनुसार कारबाही हुने बताए । ‘प्रमाण ल्याउनुस् भनेर मैले त्यहाँ पनि भनिरहे, अझ पनि कसैले प्रमाण दिए कारबाही गर्छौं,’ उनले भने । सांसद चौधरीले घुस लिने कर्मचारीलाई कानुनी दायरामा ल्याउन पहल गर्ने बताए । उक्त कार्यक्रममा गाउँ ब्लकमा ३ सय ४६ परिवारलाई पहिलो चरणमा जग्गाधनी प्रमाणपत्र वितरण गरिएको छ ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully