वीरगन्जमा आँखाको 'केराटोकोनस'को सफल शल्यक्रिया

अस्पतालका चिकित्सक डा. मनीष खतिवडा नेतृत्वको टोलीले बिहीबार भारत बिहार पश्चिम चम्पारणका १६ वर्षीय आशिष कुमारको देब्रे आँखाको 'केराटोकोनस'को शल्यक्रिया गरेको हो ।

वैशाख १२, २०८३

शंकर आचार्य

Successful eye surgery for 'keratoconus' in Birgunj

पर्सा — वीरगन्जस्थित दृष्टि आँखा अस्पतालमा आँखामा लाग्ने जटिल रोग 'केराटोकोनस'को सफल शल्यक्रिया गरिएको छ । आFखाको नानी पातलो र चुच्चो हुने यो रोगको मधेश प्रदेशमै पहिलोपटक शल्यक्रिया गरिएको अस्पताल प्रशासनले दाबी गरेको छ । 

अस्पतालका चिकित्सक डा. मनीष खतिवडा नेतृत्वको टोलीले बिहीबार भारत बिहार पश्चिम चम्पारणका १६ वर्षीय आशिष कुमारको देब्रे आँखाको शल्यक्रिया गरेको हो ।

करिब १ घण्टामा सफलतापूर्वक उक्त शल्यक्रिया सम्पन्न गरिएको डा. खतिवडाले बताए । सुरुमा दुवै आँखाको मोतीबिन्दुको समस्या लिएर आएका ती किशोरको आँखाको परीक्षण गर्दा उनको आँखाको नानीमा यो रोग देखिएको हो ।

'केराटोकोनस' रोगको उपचार नगरी मोतीबिन्दुको उपचार सम्भव नरहेकाले पहिले यो रोगको उपचार गरिएको र तीन महिनापछि उनको मोतीबिन्दुको शल्यक्रिया गर्न सकिने डा. खतिवडा बताउँछन् । ‘हामीले कोर्नियल क्रस लिकिंग गरी आँखाको नानीलाई थप पातलो र च्यातिन नदिने बनाएका छौं,’ उनले भने, ‘यसरी उनको आँखाको नानीलाई बलियो बनाउने काम हामीले गरेका हौं ।’

अस्पतालमा ६ महिनाअघिदेखि नानी प्रत्यारोपण सेवा सुरु गरेकामा यो उपचार भने पहिलो पटक गरिएको डा. खतिवडाले जानकारी दिए । अस्पतालमा नानी प्रत्यारोपणसँगै सुख्खा आँखामा तेल र आँशु निकाल्ने ग्रन्थीको अवस्थामा सुधार, कन्ट्याक्ट लेन्स प्रत्यारोपणजस्ता सेवा पनि दिन थालिएको उनले बताए ।

नेपालका आँखा अस्पतालमा गुणस्तरीय र तुलनात्मक रूपमा सस्तो पनि सेवा दिने गरिएकाले भारतीय बिरामीको आकर्षण नेपालका आँखा अस्पतालहरूमा निरन्तर बढ्दो छ ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully