जोखिमपूर्ण घर टहरामा व्यवसाय सञ्चालन नगर्न प्रशासनको आग्रह

सडक डिभिजन हेटौंडाको कार्यक्रमअनुसार ६ वैशाखमा मितेरी पुलदेखि गण्डक चोकसम्म मापदण्डविपरीतका घर तथा टहराहरू भत्काएको र त्यसपछि कतिपय घरधनीले स्वेच्छाले संरचना हटाइरहेका छन् ।

वैशाख ११, २०८३

शंकर आचार्य

Administration urges people not to operate businesses in risky housing estates

पर्सा — वीरगन्जको मुख्य सडक आसपास रहेका जोखिमपूर्ण घर तथा टहरामा व्यवसाय सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालय पर्साले आग्रह गरेको छ ।

कार्यालयले शुक्रबार सूचना जारी गर्दै सडक डिभिजन हेटौंडाको कार्यक्रमअनुसार ६ वैशाखमा मितेरी पुलदेखि गण्डक चोकसम्मका मापदण्डविपरीतका घर तथा टहराहरू भत्काएको र त्यसपछि कतिपय घरधनीले स्वेच्छाले संरचना हटाइरहेका छन् । केही स्थानमा अझै जोखिमयुक्त संरचनामा व्यवसाय सञ्चालन भइरहेकोप्रति प्रशासनले ध्यानाकर्षण भएको जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलद्वारा हस्ताक्षरित सूचनामा त्यस्ता जोखिमपूर्ण घर टहरामा व्यवसाय सञ्चालन गर्न दिँदा घरधनी, व्यवसायी तथा सर्वसाधारणको ज्यान जोखिममा पर्ने भएकाले यस्ता संरचनामा कुनै दुर्घटना भए त्यसको जिम्मेवारी स्वयं घरधनी हुने र प्रचलित कानुनअनुसार कारवाही हुने चेतावनी दिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार सम्पन्न बैठकको निर्णयअनुसार जारी उक्त सूचनामा सम्बन्धित घरधनीहरूलाई कामदार तथा सर्वसाधारणको सुरक्षालाई उच्च प्राथमिकता दिन आग्रह समेत गरिएको छ ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully