यातायात कार्यालय परिसरमा सेवाग्राहीलाई सवारी चालक अनुमति–पत्र बनाइदिन्छु भनी प्रलोभन देखाई वार्तालाप गरिरहेको अवस्थामा गौर नगरपालिका–५ दोस्तिया टोलका लक्ष्मीकुमार केसरीलाई पक्राउ गरिएको जिल्ला प्रहरीका डीएसपी विष्णुप्रदीप बस्यालले जानकारी दिए ।
रौतहट — सदरमुकाम गौरस्थित यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई अनावश्यक झन्झट दिएको आरोप लगाउँदै प्रहरीले बुधबार कार्यालयबाट एक जनालाई पक्राउ गरेको छ ।
यातायात कार्यालयमा जाने सेवाग्राहीलाई हैरानी पार्ने, कागजात बोकी विभिन्न फाँटमा कुद्ने र कार्यालय परिसरमा सेवाग्राहीलाई सवारी चालक अनुमति–पत्र बनाइदिन्छु भनी प्रलोभन देखाई वार्तालाप गरिरहेको अवस्थामा गौर नगरपालिका–५ दोस्तिया टोलका ४० वर्षीय लक्ष्मीकुमार केसरीलाई पक्राउ गरिएको जिल्ला प्रहरीका डीएसपी विष्णुप्रदीप बस्यालले जानकारी दिए ।
‘यातायात व्यवस्था कार्यालयको कम्पाउन्डभित्र जिल्ला प्रहरीबाट खटिएको टोलीले केसरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ,’ डीएसपी बस्यालले भने, ‘यसअघि पनि मालपोत कार्यालयबाट सेवाग्राहीलाई दुःख दिएको आरोपमा केही मानिस पक्राउ गरेका छौं ।’
यसअघि इलाका प्रहरीले चन्द्रपुरस्थित मालपोत कार्यालयबाट पनि यसै गरी चार जनालाई पक्राउ गरेको थियो ।
