वीरगन्जको गण्डक क्षेत्रमा सोमबार पनि डोजर चल्यो, १२ सय घरटहरा भत्काइयो

जिल्ला प्रशासनले सूचना जारी गर्दै त्रिभुवन राजपथ अन्तर्गत नेपाल–भारत मितेरी पुलदेखि गण्डक नहर चोकसम्मको सडक क्षेत्रभित्र रहेका संरचना हटाउन निर्देशन दिएको थियो ।

वैशाख ७, २०८३

शंकर आचार्य

Dozers were used in the Gandak area of ​​Birgunj on Monday as well, demolishing 1,200 houses and huts

पर्सा — वीरगन्ज महानगर क्षेत्रमा आइतबारदेखि सडकको दायाँबायाँ २५ मिटरभित्रका संरचना भत्काउन सुरु गरेको डिभिजन सडक कार्यालय हेटौंडाले सोमबार पनि गण्डक क्षेत्रमा केही संरचना भत्काएको छ ।

कार्यालयका इन्जिनियर मदनमोहन सिंहले आइतबार गण्डक क्षेत्रमा भत्काउन नभ्याइएका संरचना सोमबार भत्काइएको जानकारी दिए ।यसरी दुई दिनमा गरी त्रिभुवन राजपथ अन्तर्गतको गण्डक–मितेरी पुल सडक क्षेत्रमा रहेका करिब १ हजार २ सय घरटहरामा डोजर चलाइएको उनले बताए । अब भत्किएका संरचनाबाट निस्किएका फोहोर सकेसम्म छिटो हटाउन सम्बन्धित घरधनीहरुलाई आग्रह गरिएको पनि उनको भनाइ छ ।

केन्द्रबाट बजेट प्राप्त भएलगत्तै सडक विभागले अतिक्रमण हटाइएको गण्डक चोकदेखि मितेरी पुलसम्मको खण्डमा ६ लेनको सडक निर्माणको ठेक्का लगाउने पनि उनले बताए । 'यसअघिको सर्वोच्च अदालतको फैसला र संंघीय सरकारको निर्णयअनुसार यो कारबाही गरिएको हो,' उनले भने ।

जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार साँझ सूचना जारी गर्दै त्रिभुवन राजपथ अन्तर्गत नेपाल–भारत मितेरी पुलदेखि गण्डक नहर चोकसम्मको सडक क्षेत्रभित्र रहेका संरचना हटाउन निर्देशन दिएको थियो ।

वीरगन्ज महानगर प्रमुख राजेशमान सिंहले पनि सामाजिक सन्जालमार्फत सडक डिभिजन कार्यालय हेटौंडा र सुरक्षा निकाय द्वारा जारी सूचनाको पालना गर्न नगरवासीलाई अनुरोध गरेका थिए ।  

सर्वोच्च अदालतले २०८१ फागुन २८ गते वीरगन्जको मुख्य सडक विस्तारविरुद्ध परेका रिट खारेज गरेको थियो । न्यायाधीश बिनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले फागुन २८ गते रिट निवेदकको ५ वटै रिट खारेज गरेसँगै डिभिजन सडक हेटौंडाले त्रिभुवन राजपथका दायाँबायाँ २५ मिटर चौडा सडक चौडा गर्ने बाटो खुलेको थियो ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully