मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले संवादको विषयमा छानबिन गर्न समितिलाई जिम्मेवारी दिइएको बताए । ‘समितिको विस्तृत प्रतिवेदनअनुसार हामी अघि बढ्छौं,’ उनले कान्तिपुरसँग भने, ‘दोषी देखिए कारबाही गर्छौं ।’
राजविराज — सप्तरीका प्रहरी उपरिक्षक (एसपी) गौतमकुमार केसीले सर्वसाधारणलाई गालीगलौज र धम्क्याएको फोन संवाद भाइरल भएपछि मधेश प्रदेश प्रहरी कार्यालयले समिति गठन गरेर छानबिन सुरु गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालयका एसएसपी कमल थापाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको हो ।
मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले संवादको विषयमा छानबिन गर्न समितिलाई जिम्मेवारी दिइएको बताए । ‘समितिको विस्तृत प्रतिवेदनअनुसार हामी अघि बढ्छौं,’ उनले कान्तिपुरसँग भने, ‘दोषी देखिए हामी कारबाही गर्छौं ।’
आइतबार बिहानदेखि सामाजिक सञ्जालमा भाइरल भएको संवादअनुसार एसपी केसी र तिलाठी कोइलाडी गाउँपालिका–४ का सञ्चारकर्मी प्रह्लाद सिंह ‘विक्की’बीच कुराकानी भएको हो । संवादमा केसीले राजविराज नगरपालिका–३ का मुस्तकिम आलमलाई ‘ठिक ठाउँमा ल्या, होइन भने... हान्दिन्छु’ भन्दै गालीगलौज गरेका हुन् । सिंहलाई धम्क्याउँदै एसपी केसीले आलममाथि अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको संवादमा सुनिन्छ । संवाद सार्वजनिक भएपछि एसपी केसीको चौतर्फी आलोचना भइरहेको छ ।
आलमले सामाजिक सञ्जालमा अन्यायविरुद्ध आवाज उठाउँदा एसपी केसीले आफूलाई फोन गरेरै धम्क्याएको बताए । ‘मलाई फसाउनका लागि उहाँ (एसपी)ले अरुमार्फत षड्यन्त्र गरेको हो नै,’ उनले भने, ‘केही दिनअघि मलाई पनि फोन गरेर धम्क्याउनुभयो ।’ उनले समग्र घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने मागसमेत गरे ।
एसपी केसीले रातिको बेला सिंहले नै फोन गरेको स्वीकार गरे पनि आफूले गालीगलौज वा धम्की नदिएको बताए । ‘संवाद तोडमोड गरेको हुन सक्छ तर मैले सुनेको छैन,’ उनले भने, ‘मैले गालीगलौज वा धम्की दिएको छैन ।’
