वीरग्नज महानगरले सोमबार दिउँसो ३ बजेसम्म मुर्ली–आयल निगम सडकको अतिक्रमित क्षेत्र खाली गर्न अनुरोध गरेको हो ।
पर्सा — सडक डिभिजन कार्यालय हेटौंडाले आइतबारदेखि वीरगन्जको मुख्य सडक खण्ड बिस्तार अभियान थाले लगत्तै वीरगञ्ज महानगरपालिकाले पनि लामो समयदेखि बिस्तार हुन नसकेको वीरगन्ज–१२ र १३ मूर्लीस्थित मूर्ली चोकदेखि नेपाल आयल निगम क्षेत्रिय कार्यालयसम्मको सडक पनि बिस्तार गर्ने भएको छ ।
महानगरपालिकाले आइतबार सार्वजनिक सूचना जारी गरी सो सडक खण्ड अतिक्रमण गरी निर्माण गरिएका घरटहरा २४ घण्टाभित्र खाली गर्न सूचना गरेको छ । महानगरले सोमबार दिउँसो ३ बजेसम्म अतिक्रमित क्षेत्र खाली गर्न अनुरोध गरेको हो ।
वीरगन्ज महानगरपालिकाको प्रशासन तथा व्यवस्थापन महाशाखाका प्रमुख सुनिलकुमार कर्णले सबाहा अन्सारीको घरदेखि मुर्ली चोकसम्मको सडकको केन्द्रबाट दायाँ–बायाँ ५/५ मिटर गरी कुल १० मिटर चौडाइमा विस्तार गर्ने योजना रहेको जनाए ।
महानगरले अतिक्रमित सडकमा निर्माण गरिएका संरचना खाली गर्नको लागि अल्टिमेटम दिएको छ । सो क्षेत्रमा नेपाल आयल निगम कार्यालयतर्फको भागमा केही घर निर्माण भइसकेको र बाँकी भागमा विस्तार कार्य अवरुद्ध रहेको छ ।
