वीरगन्जमा अतिक्रमित क्षेत्रका १ हजार बढी घरटहरा हटाइँदै

त्रिभुवन राजपथ अन्तर्गतको गण्डक–मितेरी पुल सडक क्षेत्रमा रहेका अतिक्रमित संरचना आइतबार बिहान साढे ५ बजेबाट हटाउन सुरु गरिएको हो ।

वैशाख ६, २०८३

शंकर आचार्य

Over 1,000 houses and shacks being removed from encroached areas in Birgunj

What you should know

पर्सा — वीरगन्ज महानगर क्षेत्रमा आइतबार बिहानैदेखि सडकको दाँयाबाँया २५ मिटरभित्रका संरचना भत्काउन सुरु गरिएको छ ।

त्रिभुवन राजपथ अन्तर्गतको गण्डक–मितेरी पुल सडक क्षेत्रमा रहेका अतिक्रमित संरचना बिहान साढे ५ बजेबाट हटाउन सुरु गरिएको हो ।

सडक डिभिजन हेटौंडा कार्यालयले आइतबार करिब १ दर्जन डोजर/एस्क्साभेटर चलाएर संरचना हटाउन सुरु गरेको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको सुरक्षामा अतिक्रमित संरचना हटाउने अभियान थालिएको हो ।

सडक डिभिजन कार्यालय हेटौंडाका इन्जिनियर भोला साहले यसअघिको सर्वोच्च अदालतको फैसला र संंघीय सरकारको निर्णय अनुसार आइतबार बिहानदेखि सडक अतिक्रमण गरी निर्माण गरिएका घरटहरा भत्काउन सुरु गरिएको जानकारी दिए । उनले गण्डक चोकदेखि मितेरी पुलसम्म करिब १ हजारदेखि १ हजार २ सय घरटहरा रहेको बताए ।

घर भत्किएका घरधनीहरुले भने २४ घण्टा पनि समय नदिएर संरचना भत्काउने कार्य गरेकाले अन्याय भएको गुनासो गरेका छन् । घण्टाघरस्थित घरधनी कन्हैयालाल केशरीले शनिबार साझ ६ बजे अचानक जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर आइतबार बिहान साढे ४ बजेदेखि संरचना भत्काउने जनाएपछि त्यसले बिशेषगरी व्यापारीहरुलाई समस्या भएको बताए ।  

Over 1,000 houses and shacks being removed from encroached areas in Birgunj

जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार साझ सूचना जारी गर्दै त्रिभुवन राजपथ अन्तर्गत नेपाल–भारत मितेरी पुलदेखि गण्डक नहर चोकसम्मको सडक क्षेत्रभित्र रहेका संरचना हटाउन निर्देशन दिएको थियो ।
सडक डिभिजन कार्यालय हेटौंडाको पत्र तथा वीरगन्ज महानगरपालिकाको समन्वयमा उक्त क्षेत्रमा सडक मापदण्ड अनुसार सडकको दायाँबायाँ २५/२५ मिटर सीमाभित्रका अतिक्रमित स‌ंरचना हटाउने निर्णय गरिएको प्रशासनले जनाएको थियो ।

तोकिएको सीमाभित्र पर्ने घरटहरा, पसललगायत संरचना आइतबार बिहान साढे चार बजेअघिसम्म हटाइसक्नुपर्ने अन्यथा बलपूर्वक हटाइने चेतावनी दिइएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलद्वारा हस्ताक्षरित सूचनामा सडक अतिक्रमण हटाउने कार्यमा राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरिएको थियो ।

वीरगन्ज महानगर प्रमुख  राजेशमान सिंहले पनि सामाजिक सञ्जालमार्फत सडक डिभिजन कार्यालय हेटौंडा र सुरक्षा निकायद्वारा जारी सूचनाको पालना गर्न नगरबासीलाई अनुरोध गरेका छन् । उक्त सूचना लगत्तै शनिबार साझदेखिनै विशेषगरी महानगरको घण्टाघरदेखि दक्षिण बजार क्षेत्रमा घरमा रहेका पसलधनीहरुले धमाधम आफ्नो पसलका सामान स्थानान्तरण गर्न खोजेका थिए ।

तर व्यापारी तथा व्यवसायीहरुले सामान हटाउन नभ्याउँदै आइतबार बिहानैदेखि डोजर चलेपछि चर्को आक्रोश व्यक्त गरेका छन् । गण्डकदेखि मितेरी पुलसम्मका संरचना हटाउन मुख्य सडकमा ठाउँठाउँमा डोजर चलाइएपछि महानगरको मुख्य सडकको यातायात व्यवस्था अस्तव्यस्त भएको छ । बिजुली तथा इन्टरनेट सेवा पनि अवरुद्ध भएको छ ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully