सीमाक्षेत्रमा अवैध रूपमा सञ्चालन हुँदै आएका खुल्ला मदिरा पसल तथा टहरा हटाउन डोजर प्रयोग गरिएको थियो ।
पर्सा — सशस्त्र प्रहरीले भारतसँग जोडिएको दसगजा सीमाक्षेत्रमा अवैध रूपमा सञ्चालन हुँदै आएका खुल्ला मदिरा पसल तथा टहरा हटाएको छ ।
पर्साको बिन्दबासिनी गाउँपालिका–४ प्रसौनीभाठ्ठा, अमरपट्टीस्थित सीमाक्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोली, प्रहरी चौकी अमरपट्टीको टोली तथा भारतको पूर्वी चम्पारण जिल्लास्थित सिसुवा ग्राम पञ्चायत–१ अन्तर्गत सशस्त्र सीमा बल ४७ बटालियन ‘सी’ कम्पनी धुपाटोलाको संयुक्त टोलीले उक्त कारबाही गरेको हो ।
संयुक्त टोलीले दसगजा क्षेत्र अतिक्रमण गरी अवैध रूपमा सञ्चालन गरिएका संरचनामाथि डोजर चलाएको थियो । सो क्रममा नेपालतर्फ रहेका ५ टहरा, ३ खुल्ला मदिरा पसल र १ भट्टी तथा भारततर्फ रहेका ३ टहरा हटाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
सीमाक्षेत्रमा अनधिकृत संरचना निर्माण र मदिरा बेचबिखनका गतिविधिले सुरक्षा तथा सामाजिक समस्या बढ्दै गएको भन्दै यस्ता अवैध क्रियाकलाप नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायबीच समन्वयमा कारबाही गरिएको सशस्त्र प्रहरी बल नं १३ गण मुख्यालय पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले बताए ।
उनका अनुसार सीमाक्षेत्रको अतिक्रमण नियन्त्रण तथा सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन यस्ता संयुक्त अनुगमन र कारबाहीलाई निरन्तरता दिइनेछ ।
