यो परियोजना पोखरिया नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ।
पर्सा — जिल्लाको पोखरिया नगरपालिका–६ स्थित महोबनी पदम माध्यमिक विद्यालय तथा पुस्तकालय भवन निर्माणका लागि मंगलबार शिलान्यास गरिएको छ।
उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत निर्माण हुन लागेको उक्त भवनको शिलान्यास वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्यदूत देवी सहाय मीना र पोखरिया नगरपालिकाका प्रमुख प्रदुमनप्रसाद चौहानले संयुक्त रूपमा गरेका हुन् ।
भारत सरकारको ६५ दशमलव ३ मिलियन नेपाली रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको परियोजनाअन्तर्गत तीन तले शैक्षिक भवन, प्रशासनिक भवन, गेट तथा गार्डहाउस, शौचालय, सीमा पर्खाल, भूदृश्यीकरण, खानेपानी तथा सरसफाइ, विद्युतीकरण लगायतका पूर्वाधार निर्माण गरिनेछ। साथै कक्षा कोठा, पुस्तकालय, कम्प्युटर तथा विज्ञान प्रयोगशाला, क्यान्टिन र भान्छा सहितका सुविधाहरू समेत उपलब्ध गराइने जनाइएको छ।
यो परियोजना पोखरिया नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ। कार्यक्रममा नगर प्रमुख, विद्यालय व्यवस्थापन समिति तथा अन्य सरोकारवालाहरूले भारत सरकारको विकास सहयोगप्रति आभार व्यक्त गरेका थिए।
छिमेकी मुलुक तथा विकास साझेदारका रूपमा नेपाल र भारतबीच विभिन्न क्षेत्रमा सहकार्य हुँदै आएको छ। यस्ता परियोजनाले नेपालको विकास प्रयासलाई थप सुदृढ बनाउन भारत सरकारको निरन्तर सहयोग रहेको प्रतिबिम्बित हुने विश्वास व्यक्त गरिएको महावाणिज्यदूत मीनाले बताएका छन् ।
