पक्राउ पर्नेमा रौतहटका २६ वर्षीय सन्तोष साह र उनकी पत्नी २४ वर्षीया सोनी साह छन् । त्यसैगरी बाराका १९ वर्षीय विशाल साह र भारतीय नागरिक १९ वर्षीय कन्हैया कुमार छन् ।
पर्सा — वीरगन्जमा एक प्रहरी जवानको हत्या भएको छ । मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान २८ वर्षीय विकास चौरसिया रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार, वीरगन्ज महानगरपालिका–९ मुर्लीस्थित फिरोज मियाको घरमा उनी गम्भीर घाइते अवस्थामा रहेको सूचना जिल्ला प्रहरी कार्यालयमा आइतबार साँझ ४ बजेर ४० मिनेटमा आएको थियो ।
प्रहरी टोली तत्कालै त्यहाँ पुग्दा चौरसियाको शरीरको विभिन्न भागमा धारिलो हतियारले प्रहार गरी अत्यधिक रक्तश्राव भई गम्भीर घाइते अवस्थामा फेला परेका थिए । उनलाई तत्कालै उपचारार्थ नारायणी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीले घटनामा संलग्न रहेको आशंका तत्कालै ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटका २६ वर्षीय सन्तोष साह र उनकी पत्नी २४ वर्षीया सोनी साह छन् । त्यसैगरी बाराका १९ वर्षीय विशाल साह र भारतीय नागरिक १९ वर्षीय कन्हैया कुमार छन् । घटना के कसरी भयो भनी अनुसन्धान भई रहेको डीएसपी बस्नेतले बताएका छन् । पर्सा कालिकामाई गाउपालिका–१ घर भएका प्रहरी जवान चौरसिया वीरगन्जको मुर्लीमै डेरा गरी बस्थे । उनी १० दिनको बिदा लिई वीरगन्ज आएका थिए ।
