दुई महिनादेखि हराएका छोरा खोज्दै परिवार

परिवारले पत्रकार सम्मेलन गरेर छोराको खोजीमा सघाउन अनुरोध गरेका छन् । बालकका बुवा जयकृष्णले छिमेकी मिलेर छोरा ‘बेपत्ता’ बनाएको आरोप लगाए ।

चैत्र २८, २०८२

विद्यानन्द राम

Family searching for son who has been missing for two months

What you should know

राजविराज — उनका १४ वर्षका छोरा सम्पर्कविहीन भएको दुई महिना बितिसक्यो । दिनरात छोराको खोजीमा भौंतारिरहेका छन् । तर, कतै फेला नपरेपछि सप्तरीको तिलाठी कोइलाडी–६, बभनगामाकट्टीका जयकृष्णकुमार यादव बेचैन छन् ।

जयकृष्णका छोरा अमनकुमार गत माघ १९ गते दिउँसो हनुमाननगर कंकालिनी–१, भारदहस्थित कोशी मेला हेर्न गएका थिए । तर, साँझ अबेरसम्म नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए । सम्भावित ठाउँमा खोजी गरे पनि अझैसम्म बालक फेला नपरेको परिवारले जनाएको छ । 

परिवारले पत्रकार सम्मेलन गरेर छोराको खोजीमा सघाउन अनुरोध गरेका छन् । बालकका बुवा जयकृष्णले छिमेकी रामदेव र कारी यादव मिलेर छोरा ‘बेपत्ता’ बनाएको आरोप लगाए । ‘छोरा हराउनु भन्दा चार दिनअघि रामदेव र कारीले १० हजार रुपैयाँ नभए एक बिघा जग्गा पास गरिदेऊ, नत्र तिम्रो छोराको अपहरण गरी मारिदिन्छु भनेका थिए,’ जयकृष्णले भने, ‘भएभरको जग्गा उनीहरूलाई कसरी दिन सक्थेँ र ?’ उनीहरूले आफूलाई धम्क्याएको चार दिनपछि छोरा सम्पर्कविहीन भएको उनले बताए । 

पत्रकार सम्मेलनमा जयकृष्णले छोरा हराएको विषयमा उनीहरूसँग सोध्दा रामदेव र कारीले कोशी पलारमा राखेको आफूलाई बताएको पत्रकार सम्मेलनमा जनाए । त्यतिबेला दुवै जनाले जग्गा नामसारी गरिदिन फेरि धम्क्याएको उनले दाबी गरे । ‘खोजी गरिदिन माघ २२ गते प्रहरीमा निवेदन दिएँ,’ उनले भने, ‘उनीहरूसँग प्रहरीले सोधपुछ त गर्‍यो तर छोरा फेला परेन ।’ छोरा हराएलगत्तै चैत १९ गते जाहेरी दिन प्रहरीमा पुगेको उनले सुनाए । त्यति बेला प्रहरीले परिवारलाई नै खोजेर ल्याउन अर्‍हाएका थिए । त्यसपछि बाध्य भएर पत्रकार सम्मेलनमार्फत छोराको खोजीमा सहयोग गरिदिन आग्रह गरेको उनले बताए । 

आरोपी रामदेवले बालक हराएको विषयमा आफूले १०/१२ दिनअघि मात्र जानकारी पाएको बताए । ‘ममाथि गलत आरोप लगाइरहनु भएको छ,’ उनले भने, ‘मैले जयकृष्णसँग पैसा वा जग्गा मागेको पनि छैन, प्रहरीलाई पनि बयानमा त्यही बताएको छु ।’ अर्का आरोपी कारीसँग सम्पर्क हुन सकेन । स्थानीयका अनुसार कारी अहिले भारतमा छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले हुलिया परिपत्र गरेर बालकको खोजी कार्य भइरहेको बताए ।

‘बालकको खोजी गर्न परिवारबाट जानकारी आएसँगै हामीले मातहतमा हुलिया परिपत्र गरेर खोजी गरिरहेका छौं तर हामीसमक्ष जाहेरी आइसकेको छैन,’ उनले भने, ‘छोराको अपहरण भएको छ भनी दुई जनाको नाम उल्लेख गरेर उहाँहरूले जिल्ला प्रशासनमा निवेदन दिएको कुरा जानकारीमा आएको छ ।’ घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी पुरीले बताए ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully