मेयरलाई पक्राउ नगरेको भन्दै कर्मचारीको आन्दोलनका कारण शुक्रबार नगरपालिकाको सम्पूर्ण प्रशासनिक सेवा ठप्प भएको छ ।
What you should know
सिरहा — मेयर नवीनकुमार यादवलाई पक्राउ नगरेको भन्दै सिरहा नगरपालिकाका कर्मचारीहरु आन्दोलित हुँदा नगरपालिकाको कामकाज ठप्प भएको छ ।
मेयर यावदविरुद्ध पक्राउ पुर्जी जारी भए पनि पक्राउ नगरेको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।कर्मचारीको आन्दोलनका कारण शुक्रबार नगरपालिकाको सम्पूर्ण प्रशासनिक सेवासम्म ठप्प भएको छ । नगरपालिकाभित्रका स्वास्थ्य, कृषि, पशु शाखासँगै वडा कार्यालयको सेवा अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका छन् ।
गत सोमबार बिहान ९ बजे हाजिरी गर्न लागेको अवस्थामा कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादवलाई मेयर यादवले गालीगलौज गर्दै लात र मुक्काले कुटपिट गरेको कर्मचारीहरुको आरोप छ । कुटपिटबाट घाइते भएका रामशरणको काठमाडौंमा उपचार भइरहेको छ । यस घटनामा संलग्न रहेको आरोपमा मेयर यादव र नगरकै कर्मचारी रोहित मेस्तरमाथि जिल्ला प्रहरी कार्यालय सिरहाले अभद्र व्यवहार कसुरमा मुद्दा दर्ता गरी पक्राउ पुर्जी जारी गरेको छ । रोहित भने पक्राउ परिसकेका छन् ।
मेयर यादवलाई नियन्त्रणमा लिन प्रहरीले चासो नदेखाएको भन्दै आफूहरू अझै आन्दोलन गर्न बाध्य हुनुपरेको शाखा अधिकृत बलिराम यादवले बताए । 'मेयरज्यू पक्राउ पुर्जी जारी भएपछि हिजो साँझ मोबाइल अफ गरी सम्पर्कविहीन हुनुहुन्थ्यो, तर आज फोन लागिरहेको छ, उहाँ आज घरमै हुनुहुन्छ भन्ने जानकारी छ,' उनले भने, 'तर, प्रहरीले पक्राउ गर्न चाहेको देखिएको छैन, त्यसकारण हामी अझै आन्दोलनमै छौं, उल्टै हामीलाई धम्क्याउने काम भएको छ ।'
कुटपिटमा संलग्न मेयर यादवसहितलाई पक्राउ गरी कानूनी कारबाहीसँगै पीडित कर्मचारीको नि:शुल्क उपचारको व्यवस्था हुनुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने तथा कर्मचारीले आत्मसम्मानपूर्वक काम गर्न पाउने वातावरण निर्माण गरिनुपर्ने माग कर्मचारीहरूले गरेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाले मेयर यादवको खोजीकार्य जारी रहेको जनाएको छ ।
