पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनस्थित चापिनी खोलामा डाइभर्सन बगाएपछि बिहीबार बिहान ४ बजेदेखि राजमार्ग अवरुद्ध भएको छ।
सर्लाही — पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनस्थित चापिनी खोलामा डाइभर्सन बगाएपछि बिहीबार बिहान ४ बजेदेखि राजमार्ग अवरुद्ध भएको छ।
राति परेको भारी वर्षापछि आएको बाढीले हरिवनको तीनघरे र बासाटोलबीच पर्ने चापिनी खोलाको डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध बनेको हो। राजमार्ग चार लेनमा स्तरोन्नति भइरहेको छ। पुरानो पुल मर्मत गर्ने र छेउमै अर्को पुल निर्माण गर्ने काम भइरहेकाले डाइभर्सनबाट सवारी आवतजावत हुँदै आएका थिए।
डाइभर्सन बगाएसँगै पुरानो पुलको मर्मत कार्य रोकेर सोही पुलबाट यातायात सञ्चालन गर्न माटो भर्ने काम भइरहेको प्रहरीले जनाएको छ।
घण्टौँको जाममा पर्दा नाइट बसका यात्रु तथा चालकहरू समस्यामा परेका छन्। साना सवारी साधन भने चापिनी हुँदै गाउँका भित्री बाटोबाट आवतजावत गरिरहेका छन्। बगाएको डाइभर्सन पुनः निर्माण गर्न समय लाग्ने देखिएको छ।
सर्लाहीमा अहिले पूर्व–पश्चिम राजमार्गका दर्जनौँ स्थानमा डाइभर्सनमार्फत सवारी पास गराउँदै बक्स कल्भर्ट र पुल निर्माण भइरहेको छ। वर्षाका कारण पानी जम्ने र हिलाम्मे हुने भएकाले अन्य स्थानका डाइभर्सनबाट पनि सवारी साधन कष्टपूर्ण रूपमा सञ्चालन भइरहेका छन्।
