नगर प्रमुख यादवले सोमबार बिहान ९ बजे हाजिरी गरिरहेको अवस्थामा कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादवलाई गालीगलौज गर्दै लात र मुक्काले कुटपिट गरेका थिए ।
सिरहा — सिरहा नगरपालिकाका मेयर नवीनकुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नगरपालिकामा कार्यरत कार्यालय सहयोगीलाई कुटपिट गरेको घटनामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
नगर प्रमुख यादवले सोमबार बिहान ९ बजे हाजिरी गरिरहेको अवस्थामा कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादवलाई गालीगलौज गर्दै लात र मुक्काले कुटपिट गरेका थिए । कुटपिटबाट उनको हड्डी भाँच्चिएको छ भने शरीरका विभिन्न भागमा पनि चोट लागेको छ ।
अहिले उनको विराटनगरमा उपचार भइरहेको छ । सोही घटनामा मेयर यादवमाथि अभद्र व्यवहार गरेको कसुरमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय, सिरहाबाट पक्राउ अनुमति लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकले जानकारी दिए । उनका अनुसार, पक्राउ पुर्जी जारी भएसँगै मेयर यादवको खोजीकार्य प्रहरीले गरिरहेको छ ।
सोही घटनामा संलग्न रहेका नगरपालिकाका कर्मचारी रोहित मेस्तर भने पक्राउ परिसकेका छन् ।
