राजविराज बजारकै सरकारी जग्गाको अतिक्रमण हटाउन आलटाल

कोलेनिका सप्तरीले गत पुस ३० मा पत्राचार गर्दै आफ्नो नामका भएको जग्गामा अतिक्रमण गरेर बनाएका घरटहरा खाली गराइदिन नगरपालिकालाई आग्रह गरेको छ ।

चैत्र २५, २०८२

विद्यानन्द राम

Delay in removing encroachment on government land in Rajbiraj Bazaar

What you should know

राजविराज — जनप्रतिनिधिले सप्तरीको राजविराज बजारकै सरकारी जग्गाको अतिक्रमण हटाउन आलटाल गरिरहेको पाइएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)सप्तरीले गत पुस ३० मा पत्राचार गर्दै आफ्नो नामका भएको जग्गामा अतिक्रमण गरेर बनाएका घरटहरा हटाएर खाली गराइदिन नगरपालिकालाई आग्रह गरेको छ । तर,  नगरपालिकाले अझैसम्म घरटहरा हटाउन पहल गरेको छैन । 

जग्गाधनी स्रेस्ता अनुसार राजविराज नगरपालिका साविक वडा नम्बर ७ (हाल ६) को कित्ता नम्बर ९० मा ६ कठ्ठा ६ धुर जग्गा कालेनिकाको नाममा छ । तर, नगरपालिकाले २०५४ फागुन ११ मा सोही जग्गामध्ये दक्षितर्फबाट २ कठ्ठा १४ धुर जग्गा स्थानीय जगदीश झालाई घरनक्सा पास गरिएको थियो । नगरपालिकाले प्लट नम्बर १५ (चलानी नम्बर १४९३ को पत्रअनुसार) उल्लेख गरिएको त्यस जग्गाको विषयमा तत्कालीन भ्रष्टाचार नियन्त्रण शाही आयोगले छानबिन गरी ती सरकारी सम्पत्तिको संरक्षण गर्न नगरपालिकालाई पत्राचार गरेको थियो । 

पछिल्लो पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उक्त सरकारी जग्गामा रहेका घरटहरा हटाउन र अतिक्रमण खाली गर्न पत्राचार गरेपछि गत मंसिर २२ मा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको बैठकबाट निर्णय भएको थियो । उक्त निर्णय भएको ४ महिना भइसक्दा पनि जनप्रतिनिधिको आलटाल कायमै छ ।

प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले अतिक्रमण हटाउने स्थानीय सरकारको दायित्व रहेकोले ती जग्गा खाली गराउने विषयमा निर्णय गरेर नगरपालिकालाई दिइसकेको बताए । ‘आयोगबाट पनि छानबिनपछि ती जग्गाको अतिक्रमण हटाउन र सरकारी सम्पत्ति संरक्षण गर्न भनिसकेकोले अतिक्रमण हटाउनुपर्छ । हामी सुरक्षा दिन तयार छौं,’ उनले भने, ‘नगरपालिकाले अतिक्रमण नहटाए हामीले हटाउँछौं ।’ 

नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविनले अतिक्रमित सरकारी जग्गा खाली गराउने विषयमा तयारी भइरहेको बताइन् । ‘त्यहाँ अलि ठूलो संरचना छ । अरुतिरका साना–साना काम सकाएर ती जग्गा खाली गराउने तयारी छ,’ उनले भनिन्, ‘खाली गराउन डेढ दुई महिना जति लाग्नसक्छ ।’ सरकारी जग्गामा घर बनाएका जगदीशका छोरा उज्वल झाले विसं २००४ देखि नै जग्गाको बिटौरी शूल्क तिर्दै आएको बताए ।  

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully