तीव्र गतिमा चलाइएका मोटरसाइकल अनियन्त्रित भएर आपसमा जुझ्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले जानकारी गराएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक विश्वम्भरनाथ साहले बताए ।
What you should know
महोत्तरी — माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर घर फर्किने क्रममा जिल्लाका तीन किशोरको मंगलबार जलेर मृत्यु भएको छ । दुईवटा मोटरसाइकल आपसमा जुधेर सल्किएको आगोले जलेर उनीहरूको मृत्यु भएको हो । जिल्लाको एकडारा गाउँपालिका–५, गेना बथनहामा दुर्घटना भएको थियो ।
जलेश्वर नगरपालिका–६ का छात्रहरू परीक्षा दिन गएका थिए । उनीहरूका केही साथी भने परीक्षा हेर्न पुगेका थिए । परीक्षा सकिएर फर्किने क्रममा घटना भएको हो ।
दुर्घटनापछि मोटरसाइकलको ट्यांकी फुटेर पेट्रोल पोखिएकाले आगलागी भएको प्रत्यक्षदर्शीले बताए । प्रहरीका अनुसार तीन किशोरको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनापछि जलेका मोटरसाइल र किशोरका शव सडकमै थिए । दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएको जिल्ला प्रहरीले जनाएको छ ।
तीव्र गतीमा चलाइएका दुवै मोटरसाइकल अनियन्त्रित भएर आपसमा जुझ्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले जानकारी गराएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक विश्वम्भरनाथ साहले बताए । मोटरसाइकल जुधेपछि ट्यांकीबाट पेट्रोल पोखिएर आगलागी भएको थियो । त्यही आगोले घाइतेलाई चपेटमा पारेको उनले बताए ।
प्रहरीका अनुसार एसईई दिएर फर्किरहेका चार जना सुपर स्पेलेन्डर मोटरसाइकलमा सवार थिए । त्यस्तै एसईई परीक्षा हेर्न पुगेका दुई जना अपाचे ब्रान्डको मोटरसाइकलमा सवार थिए । परीक्षा सकिएपछि साथै आइरहेका दुवै मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । त्यही बेला पोखिएको पेट्रोलले घाइतेको शरीरमा आगो सल्किएर तीन जनाको मृत्यु भएको प्रहरी निरीक्षक साहले बताए ।
महेन्द्र आदर्श महिला मावि जलेश्वरमा अध्ययनरत जलेश्वर–६ का सुभाष दास, रवि दास, रोहित दास र अभय कापर एउटै मोटरसाइकलमा सवार थिए । उनीहरू एकडारा गाउँपालिका–६ स्थित जनता माध्यमिक विद्यालय कोल्हुवा बगियाबाट जलेश्वरतर्फ आउने क्रममा दुर्घटनामा परेका थिए । चार जना सवार बीएपीआरए–०६–००७ पीए ०७१७ नम्बरको सुपर स्पलेन्डर मोटरसाइकल रोहित दासले चलाएका थिए । मोटरसाइकल चालक रोहित घाइते छन् ।
पछाडि सवार सुभाष दास र रवि दासको घटनास्थलमै मृत्यु भएको हो । उनीहरूका अर्का साथी अभय कापर घाइते छन् । मृतकद्वय दास दाजुभाइका छोरा हुन् । एउटै परिवारका दुई जनाको मृत्यु भएपछि जलेश्वर–६, साउजिपट्टी शोकमा डुबेको छ । उनीहरूका परिवारमा रुवाबासी छ । चारै जना एउटै मोटरसाइकलमा परीक्षा दिन गएको र फर्किएको महेन्द्र आदर्श महिला माविका एसईई परीक्षार्थी विक्की मण्डलले देखेको प्रधानाध्यापक बैजनाथ महासेठले बताए ।
परीक्षा दिएर फर्किरहेका विद्यार्थी सवार मोटरसाइकल एकडारा–३, अजमरपट्टीका अभिशेष मण्डल र जयकुमार महतो सवार प्रदेश २–०२–००३ प ८६३४ नम्बरको अपाचे मोटरसाइकलसँग ठोक्किएको थियो । अपाचे मोटरसाइकलमा सवार मण्डलको मृत्यु भएको छ । महतो घाइते भएका छन् ।
दुर्घटनामा मृत्यु भएका छात्रको परिवार आर्थिक रूपले कमजोर छन् । परिवारका अनुसार एसईई परीक्षा दिएर सुभाषले रोजगारीका लागि विदेश जाने योजना सुनाएको उनका सहपाठी बिक्की मण्डलले बताए । ‘दुवै जनाको पढाइ ठिकठाक थियो,’ बिक्कीले भने, ‘रवि कहिलेकाहीँ मात्र विद्यालय आउँथ्यो । सुभाष त परीक्षा सकेपछि कमाउन विदेश जान भन्दै थियो ।’ आफूहरूले फरक–फरक कोठामा परीक्षा दिए पनि आवतजावत गर्दा भेटघाट हुने गरेको बिक्कीले बताए । मोटरसाइकलमा चार जना सवार भएको प्रहरीले देखे पनि केही नगरेको बिक्कीले बताए ।
दुर्घटनामा घाइते तीन जनालाई जलेश्वरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको छ । घाइतेको अवस्था गम्भीर छ । दुई जनालाई प्रादेशिक अस्पताल जनकपुरको आईसीयूमा राखिएको छ । मृतकको जलेश्वर प्रादेशिक अस्पतालमा पोस्टमार्टपछि शव परिवारलाई जिम्मा लगाइएको छ । प्रहरीका अनुसार दुवै मोटरसाइकलमा गरी ६ जना सवार रहेको र विस्तृत अनुसन्धान भइरहेको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । जलेका कारण परिवारले बताएकै नम्बर अनुसारका मोटरसाइकल हुन/होइन यकिन नभएको प्रहरीले जनाएको छ ।
