सिरहाका मेयर नवीनकुमार यादवले सोमबार बिहान ९ बजे हाजिरी गरिरहेको अवस्थामा कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादवलाई गालीगलौज गर्दै लात्ती र मुक्का हानेका थिए ।
सिरहा — सिरहा नगरपालिकाका नगर प्रमुख नवीनकुमार यादवलाई कार्यालय सहयोगी कुटपिट गरेको घटनामा कारबाहीको माग गर्दै कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । नगरपालिकामा कार्यरत कर्मचारीहरू कार्यालयमै धर्ना दिएर प्रदर्शन गरिरहेका हुन् ।
कर्मचारीहरू आन्दोलनमा उत्रिँदा नगरपालिकाको कामकाज ठप्प बनेको छ । नगर प्रमुख यादवले सोमबार बिहान ९ बजे हाजिरी गरिरहेको अवस्थामा कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादवलाई गालीगलौज गर्दै लात्ती र मुक्का हानेका थिए ।
अहिले उपचार गराइरहेका पीडित कर्मचारीको नि:शुल्क उपचार हुनुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने, नगर प्रमुखमाथि प्रचलित कानूनी बमोजिम कडा कारबाही हुनुपर्ने तथा कर्मचारीले आत्मसम्मानपूर्वक काम गर्न पाउने वातावरण निर्माण गरिनुपर्ने कर्मचारीहरूको माग छ ।
आफूहरूको मागलाई गम्भीरतापूर्वक नलिई सम्बोधन नगरिए आन्दोलन निरन्तर रहने सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनुले बताए ।
