धनुषाको खैरबोना टोल बालविवाहमुक्त घोषणा

सबैला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदेव यादवले बालविवाह न्यूनीकरणका लागि थालिएको अभियानले सबैला नगरपालिकालाई सहयोग पुर्‍याएको बताए ।

चैत्र २३, २०८२

अजित तिवारी

Khairbona Toll in Dhanusha declared child marriage free

जनकपुर — धनुषाको सबैला नगरपालिका–१२ को खैरबोना टोललाई बालविवाह मुक्त घोषणा गरिएको छ । सन् २०३० सम्ममा नेपाललाई बालविवाह मुक्त गर्ने लक्ष्यअनुसार हाल धनुषाको सबैलालाई घोषणा गर्न अभियान थालिएको थियो । 

प्लान इन्टरनेशनल नेपालको साझेदारीमा जानकी महिला जागरण समाजले सशक्त बालिका परियोजनाअर्न्तगत गत २ वर्षदेखि बालबिवाह न्यूनीकरणका लागि अभियान चलाइएको जानकी महिला जागरण समाजका अध्यक्ष मन्दाकुमारी कर्णले बताइन् ।

सबैला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदेव यादवले बालविवाह न्यूनीकरणका लागि थालिएको अभियानले सबैला नगरपालिकालाई सहयोग पुर्‍याएको बताए । उनले बालबालिकाको क्षेत्रमा कार्यक्रम, सहयोग र अगुवाई गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘यो अभियानले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ,’ उनले भने, ‘अब नगरपालिकाले नियमित नियमन र निगरानीमा ध्यान दिनेछ ।’

खयरबोना टोललाई बालविवाह मुक्त घोषणा गर्न घर सर्भे, धरदैलो, प्रतिबद्धता संकलन र जनचेतनामूलक क्रियाकलाप गत ३ वर्षदेखि गरिँदै आएको थियो । बालविवाहमुक्त घोषणासभामा उत्साहित बालबालिकाहरुले मैथिली संस्कृति झल्किने विभिन्न नृत्य तथा गीत प्रस्तुत गरेका थिए । 

सबैला नगरपालिका–१२ का वडाध्यक्ष रामनारायण अधिकारीले आफ्नो वडाको खैरबोना टोललाई बालविवाहमुक्त घोषणा गरिएकोमा खुशी व्यक्त गरे । उनले बालविवाहमुक्तको अभियान आफ्नै वडाबाट सुरु भएको र यसलाई अन्य वडामा पनि विस्तार गर्नुपर्ने सुझाव दिए । 

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully