वीरगन्जमा 'डिजिटल शौचालय' सुरु

जिल्ला प्रहरी कार्यालय पर्सा परिसरमा निर्माण गरिएको आधुनिक स्नान तथा शौचालय भवन सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो।

चैत्र २३, २०८२

शंकर आचार्य

'Digital toilet' launched in Birgunj

पर्सा — प्रहरी कर्मचारीहरूको स्वच्छता, स्वास्थ्य तथा सुविधा अभिवृद्धि गर्ने उद्देश्यले पर्सामा ‘स्मार्ट पुलिस’ अवधारणाअन्तर्गत डिजिटल प्रविधियुक्त अत्याधुनिक शौचालय सेवा सुरु गरिएको छ। 

जिल्ला प्रहरी कार्यालय पर्सा परिसरमा निर्माण गरिएको आधुनिक स्नान तथा शौचालय भवन सोमबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो। 'स्वच्छता नै स्वास्थ्यको आधार हो' भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै नेपालमै पहिलोपटक डिजिटल प्रणालीसहितको शौचालय निर्माण गरिएको दाबी गरिएको छ।

उद्घाटन कार्यक्रममा प्रहरी उपरीक्षक सुदीपराज पाठकले यस्ता पूर्वाधारले प्रहरी कर्मचारीको स्वास्थ्य, स्वच्छता तथा कार्यक्षमतामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। उक्त संरचना निर्माणमा रुङ्गटा वेलफेयर सोसाइटी र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले सहयोग गरेका हुन् ।

कार्यक्रममा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले प्रहरी कर्मचारीको आधारभूत आवश्यकतालाई सम्बोधन गर्ने यस्ता पूर्वाधार निर्माण सराहनीय भएको बताए। उनले आधुनिक सुविधा युक्त संरचनाले दैनिक कार्यसम्पादनमा सहजता ल्याउने विश्वास व्यक्त गरे।

रुङ्गटा वेलफेयर सोसाइटीका कोषाध्यक्ष सुरेश रुङ्गटाले प्रहरीको मनोबल उच्च राख्न संस्थाले यस्ता सहयो गर्दै आएको बताए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully