प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित जिल्लाका सुरक्षा निकायका प्रमुखहरूले अनुगमन गरेपछि जग्गा खाली गर्न निर्देशन दिएका हुन् ।
बारा — कलैया कारागारका नाममा नापनक्सा कायम अतिक्रमित जग्गा छोड्न स्थानीय प्रशासनले निर्देशन दिएको छ । कलैया उपमहानगरपालिका–४ स्थित अदालतपछाडि रहेको जिल्ला सरकारी वकिलको कार्यालयसँगैको अतिक्रमित जग्गा खाली गर्न प्रशासनले सोमबार निर्देशन जारी गरेको हो ।
यहाँको १ बिघा साढे ६ धुर जग्गामा केही स्थानीय र कर्मचारीले अतिक्रमण गरी घरटहरा बनाएर दशकौंदेखि बस्दै आएका छन् । अदालत र नापी कार्यालयका कर्मचारीसहित ७/८ जनाले उक्त सरकारी जग्गा भोगचलन गर्दै आएका छन् ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित जिल्लाका सुरक्षा निकायका प्रमुखहरूले अनुगमन गरेपछि जग्गा खाली गर्न निर्देशन दिएका हुन् । २०२१ सालमा जग्गा जमिन नापनक्सा हुँदा कारागार बनाउनलाई उक्त जग्गा कारागारका लागि छुट्याइएको थियो । कारागार नबनेपछि जग्गा तिनीहरूले प्रयोग गर्दै बगैंचा र घर–टहरा बनाई अतिक्रमण गरी भोगचलन गर्दै आएका हुन् ।
अनुगमन टोलीमा रहेका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले भने, ‘जग्गा खाली गराउने प्रकिया सुरु भएको छ । सार्वजनिक सूचना प्रकाशित गरी थप प्रक्रिया सुरु गर्छौं ।’ सरकारी जग्गा कोही व्यक्तिले हड्पेर बसोबास गर्न नपाउने उनले बताए ।
दशकौंदेखि अतिक्रमित उक्त जग्गा भोगचलन गर्दै आएकाहरूले त्यहाँबाट हट्न आनाकानी गर्दै आए पनि अब त्यसो हुन नदिने उनले बताए ।
