होस्टेलमा बालकको मृत्यु प्रकरण : दुई आरोपी पक्राउ, आत्महत्या दुरुत्साहन कसुरमा अनुसन्धान

बालककी आमा ममताले छोरालाई कुटपिट गरेको, ढिलो गरी घटनाबारे खबर गरेको दाबी गर्दै आएकी छन् ।

चैत्र २०, २०८२

विद्यानन्द राम

Child's death in hostel: Two accused arrested, investigation into abetment to suicide

राजविराज — सप्तरीको खडक नगरपालिका–७ स्थित फुलेश्वर पब्लिक इङ्ग्लिस बोर्डिङ स्कुलको होस्टेलमा १४ वर्षीय बालकको ‘शंकास्पद’ मृत्यु भएको घटनामा दुई आरोपी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खडक नगरपालिका–१० का ४९ वर्षीय धीरेन्द्रप्रसाद चौधरी र सिरहाको लहान नगरपालिका–२० का ४१ वर्षीय भोला मण्डल रहेका छन् ।

चौधरी स्कुलका सञ्चालन हुन् भने मण्डल पालेका रुपमा कार्यरत छन् । पक्राउ परेका दुवैमाथि आत्महत्या दुरुत्साहन कसुरमा ५ दिनको म्याद थप लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले बताए । ७ वर्षदेखि होस्टेलमा बस्दै आएका खडक–९ लालपट्टीका धर्मेन्द्रकुमार साह चैत ७ गते शनिबार बिहान झुन्डिएको अवस्थामा मृत भेटिएका थिए ।

घटनापछि स्कुलका सञ्चालक चौधरी र उनकी श्रीमती शोभा, पाले मण्डललगायतले धमेन्द्रलाई अस्पताल पुर्‍याएर मात्रै परिवारजन र प्रहरीलाई जानकारी गराएका थिए । बालककी आमा ममता साहले छोरालाई स्कुलका सञ्चालक चौधरीकी श्रीमती शोभासहितले कुटपिट गरेको, ढिलो गरी घटनाबारे खबर गरेको र सीसीटीभीसमेत घटनाको बेला बन्द राखेकाले ‘शंकास्पद’ रहेको दाबी गर्दै आएकी छन् । तर, प्रहरीले शोभालाई अझसम्म नियन्त्रणमा लिएको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully