बिहारको जोकहीमा बन्धक बनाइएका बालिकाका दिदीहरू डेढ सातामा त्यहाँबाट निस्किन सफल भएपछि प्रहरीमा पुगेका थिए । उनीहरूले दिएको बयानअनुसार प्रहरीले बालिकाको उद्धार गरेको हो ।
What you should know
राजविराज — दुई सातापछि उद्धार गरिएकी सप्तरीको सुरुङ्गा नगरपालिका–३ की १४ वर्षीया दलित बालिकालाई गर्भपतन गराउन बेपत्ता पारेको खुलेको छ ।
बुवाआमा गुमाएकी ती बालिकाको स्थानीय रीता यादवले संरक्षणको जिम्मेवारी लिएकी थिइन् भने बालिका उनकै घरमा पछिल्लो ८ वर्षयता घरेलु कामदारका रूपमा बस्दै आएकी थिइन् । चैत ३ मा बालिकालाई अचानक बेपत्ता पार्दा आफन्तले सोधखोज गर्दै बालिकाका दुई जना दिदीको घरसम्म पुगेका थिए ।
तर, दिदीकहाँ पनि बालिका नभेटिँदा तथा उनकी दिदीहरूसमेत सम्पर्कविहीन रहँदा आफन्तले इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिए । उजुरीअनुसार रीताका श्रीमान् महेश्वर यादवले बलात्कार गरेको र आफन्त धर्म यादवको सहयोगमा गर्भपतन गराउन बालिकालाई बेपत्ता पारेको एवं घटना लुकाउन बालिकाका दिदीहरूलाई पनि बन्धक बनाएर राखिएको पत्ता लागेको थियो ।
बिहारको जोकहीमा बन्धक बनाइएका बालिकाका दिदीहरू डेढ सातामा त्यहाँबाट निस्किन सफल भएपछि प्रहरीमा पुगेका थिए । उनीहरूले दिएको बयानअनुसार पुगेको प्रहरीले बालिकाको उद्धार गरेको हो । बालिकाका दिदीहरूले नै उनीहरूविरुद्ध प्रहरीमा जाहेरीसमेत दिएका छन् ।
बालिकाका दिदीका अनुसार महेश्वरले बहिनी (बालिका) सिकिस्त बिरामी रहेको भन्दै फोन गरेर सिरहाको लहान बोलाएको र त्यसपछि धम्क्याउँदै बिहारको जोकही पुर्याएर तीनै जना दिदीबहिनीलाई बन्धक बनाएर राखेका थिए । ‘लहानको क्लिनिकमा पुग्दासम्म बहिनीको गर्भपतन गराइसकेको थियो । बहिनीसँग कुरा गर्दा महेश्वरले ३/४ महिनादेखि यौन शोषण गर्दै आएको र २ महिनाको गर्भ बसेको बताइन्,’ बालिकाकी दिदीले ‘ईकान्तिपुर’सँग भनिन्, ‘हामी दिदीबहिनी लहानबाटै घर फर्किन्छौं भन्दा महेश्वरले फसाइदिने धम्की दिँदै जोकही पुर्यायो ।’
महेश्वरले त्यहाँ पनि गर्भपतनको विषयमा प्रहरी र अन्य कसैलाई पनि नबताउन पटक–पटक धम्क्याएको उनले सुनाइन् । ‘डर–त्रास देखाउँदै घर फर्किनै दिइरहेको थिएन । उनको कुरा मान्छु भनेपछि बहिनी (बालिका)लाई त्यहीँ राखेर दुई दिदीबहिनीलाई फर्किन दियो,’ उनले भनिन्, ‘फर्किएपछि प्रहरीमा पुगेर घटना सुनाएपछि प्रहरी हामीसँगै त्यहाँ पुगेर बहिनीको उद्धार गर्यो ।’ गत शुक्रबार उद्धार गरिएकी बालिकाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा स्वास्थ्य परीक्षणपछि अहिले सेफ हाउसमा पठाइएको छ ।
अस्पताल स्रोतले पनि स्वास्थ्य परीक्षण गराउन ल्याइएकी ती बालिकाको यसअघि नै गर्भपतन गराइसकेको बतायो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले घटनाको विषयमा अनुसन्धान भइरहेको बताए । ‘बालिकाको स्वास्थ्य परीक्षण रिपोर्ट हामीले प्राप्त गरिसकेका छौं तर अनुसन्धान भइरहेकाले घटनाबारे थप खुलाउन मिल्दैन,’ उनले भने, ‘आरोपीहरू फरार छन् । उनीहरूको खोजी भइरहेको छ ।’
यहाँका पीडित परिवार र दलित अगुवाहरूले भने प्रहरीले आरोपीलाई उन्मुक्ति दिन खोजिरहेको आरोप लगाए । ‘प्रहरीले बालिकाका दिदीहरूसँग लिएको बयानका आधारमा जाहेरी लिइसकेको भन्छन् तर जाहेरीको विवरण परिवार र आफूहरूसमक्ष उल्लेख गर्नै चाहँदैनन्,’ दलित अगुवा सलिता सदाले भनिन्, ‘बयान दिएकी दिदीहरू निरक्षर हुनुहुन्छ । उहाँहरूले दिएको बयानअनुसार जाहेरी विवरण छैन ।’
बालिकाकी दिदीहरूले समेत साक्षर आफन्तसमक्ष जाहेरी विवरण स्पष्ट गर्न प्रहरीसँग आग्रह गरिन् । बालिका संरक्षणको जिम्मेवारी लिएकी रीता सरकारी कर्मचारी हुन् । उनी सोही वडा कार्यालयमा खरिदार पदमा कार्यरत छिन् । तर, घटनापछि उनीसँग पनि सम्पर्क हुन सकेको छैन ।
