यो पुलको निर्माण १४ वर्षअघि नै थालिए पनि अझै अधुरै छ
सिरहा — हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीको पुल असार मसान्तभित्रै सञ्चालनमा ल्याउने गरी काम अघि बढेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनपछि पुल निर्माणको गति बढाइएको हो ।
सिरहा १ का सांसद शिव यादव, हुलाकी राजमार्ग निर्देशनालयका महानिर्देशक कुबेर नेपालीलगायतले सोमबार कमलामै गएर निरीक्षण गरे । उनीहरू ठेकेदारसँग भइरहेको कामको विषयमा जानकारी लिँदै आवश्यक निर्देशन दिएर फर्किए ।
सांसद यादवका अनुसार, त्यसअघि मन्त्रालयमा मन्त्री सुनिल लम्साल, मन्त्रालयका सचिवलगायतसँग यस विषयमा छलफल भएको थियो । 'छलफलका क्रममा मन्त्रीज्यूले असारभित्रै कसरी काम सम्पन्न गरी पुल सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ,' सांसद यादवले भने ।
यो पुलको निर्माण १४ वर्षअघि नै थालिए पनि अझै अधुरै छ । २०६८ मंसिरमा ४ सय ७० मिटर लामो र ११ मिटर चौडाइको पुल साढे तीन वर्षभित्रै निर्माण गरिसक्ने गरी २४ करोड ९१ लाख रुपैयाँमा पप्पु लुम्बिनी बिल्डर्स जेभी कन्सट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो ।
तर, पटक-पटक म्याद थप्दा १० वर्षसम्म पनि निर्माण सम्पन्न भएन । २०७५ पुसमा सिरहाका अगुवा रामरिझन यादवको नेतृत्वमा हुलाकी सडक संघर्ष समितिले रिले अनशन थालेपछि हुलाकी राजमार्ग निर्देशनालयले पप्पु कन्स्ट्रक्सनबाट सो ठेक्का तोडेर २०७६ असोज १ मा लुम्बिनी बिल्डर्स कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो ।
२०७८ असारभित्रै सञ्चालनमा ल्याउने गरी काम अन्तिम चरणमा पुगेका बेला २०७८ असार १७ मा सामान्य बाढी थेग्न नसकी यो पुल भासिएको थियो । त्यसयता ठेकेदारले पुनर्निर्माणको काम सुस्त गतिमा गर्दा पुल सञ्चालनमा ढिलाइ हुँदै आएको छ ।
