नेपाल-भारतबीच आर्थिक सहकार्य विस्तारका सम्भावना खोज्दै वीरगन्जमा गोष्ठी

भारतको महावाणिज्य दूतावास, वीरगन्ज र वीरगन्ज उद्योग वाणिज्य संघको सहकार्यमा आयोजित गोष्ठीमा नेपाल र भारतको बिहार राज्यका विभिन्न उद्योग वाणिज्य संघ तथा उद्योग संघका प्रतिनिधि र पदाधिकारीको उल्लेखनीय सहभागिता रहेको थियो।

चैत्र १५, २०८२

शंकर आचार्य

Seminar in Birgunj to explore possibilities of expanding economic cooperation between Nepal and India

पर्सा — नेपाल–भारतबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले वीरगन्जमा आइतबार गोष्ठी आयोजना गरिएको छ। 

भारतको महावाणिज्य दूतावास, वीरगन्ज र वीरगन्ज उद्योग वाणिज्य संघको सहकार्यमा आयोजित ‘नेपाल–भारत आर्थिक सहकार्य : नयाँ व्यापारिक सम्भावनाहरूको उद्घाटन’ विषयक गोष्ठीमा नेपाल र भारतको बिहार राज्यका विभिन्न उद्योग वाणिज्य संघ तथा उद्योग संघका प्रतिनिधि र पदाधिकारीको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा महावाणिज्यदूत डी एस मीनाले नेपाल-भारतबीचको गहिरो आर्थिक सम्बन्धलाई जोड दिँदै द्विपक्षीय व्यापारलाई अझ प्रगाढ बनाउने दिशामा भइरहेको प्रयासबारे प्रकाश पारेका थिए । उनले काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगन्जस्थित महावाणिज्य दूतावासले व्यापार सहजीकरणका लागि खेलेको भूमिकाबारे पनि चर्चा गरे ।

मीनाका अनुसार भारतले एकीकृत जाँच चौकी, सुक्खा बन्दरगाह, रेलवे तथा डिजिटल कनेक्टिभिटीजस्ता पूर्वाधार विकासमार्फत आर्थिक सम्बन्ध मजबुत बनाउँदै आएको छ। उनले स्टार्टअप, सूचना प्रविधि, पर्यटन र कृषि–प्रशोधनजस्ता क्षेत्रमा संयुक्त लगानीका पर्याप्त अवसर रहेको उल्लेख गर्दै नेपाली व्यवसायीलाई भारतीय साझेदारसँग सहकार्य गर्न आह्वान पनि गरे ।

गोष्ठीमा वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपाल, सुभाषकुमार पटवारी, मनीष कुमार, वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्षद्वय अशोक वैद्य र ओमप्रकाश शर्मा तथा रिपु रमन लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

गोष्ठीका सहभागी वक्ताहरूले नेपाल–भारतबीच व्यापार विस्तारका सम्भावना औंल्याउँदै विद्यमान चुनौतीहरू समाधान गर्न सहकार्य आवश्यक रहेको बताए। कार्यक्रममा सहभागीहरूले आपसी अन्तरक्रियामार्फत व्यापार सहजीकरणका उपायबारे पनि छलफल गरेका थिए।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully