पत्नीको खुट्टा काट्ने सहनी पक्राउ

पर्सागढीको बडनिहार क्षेत्रबाट शनिबार दिउँसो पक्राउ परेका सहनीमाथि ज्यान मार्ने उद्योग तथा कुटपिट र अंगभंगसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिए ।

चैत्र १५, २०८२

शंकर आचार्य

Man arrested for cutting off wife's leg

What you should know

पर्सा — श्रीमतीमाथि क्रुर आक्रमण गरी फरार रहेका पर्सागढी नगरपालिका–३ बिरुवा टोलका ३० वर्षीय विश्वनाथ सहनी पक्राउ परेका छन्।

आइतबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकले सहनीको पक्राउबारे जानकारी सार्वजनिक गरेका हुन् ।

उनका अनुसार, सहनीले चैत १ गते बिहान साढे ८ बजे आफ्नी श्रीमती २५ वर्षीया हरिकलादेवी सहनीमाथि घरायसी विवादका कारण योजनाबद्ध रूपमा धारिलो हतियार (दाउ) प्रहार गरेका थिए। आक्रमणबाट हरिकलाको बायाँ खुट्टा काटिएको अवस्थामा गम्भीर घाइते भएकी थिइन्।

घटनापछि घाइते हरिकलालाई तत्कालै स्थानीयको सहयोगमा उपचारका लागि एलएस न्युरो एण्ड जनरल हस्पिटल, परवानीपुर बारामा भर्ना गरिएको थियो । तर उनको उक्त खुट्टा चिकित्सकले उपचारका क्रममा काटेर हटाएका छन् ।

पर्सागढीको बडनिहार क्षेत्रबाट शनिबार दिउँसो पक्राउ परेका सहनीमाथि ज्यान मार्ने उद्योग तथा कुटपिट र अंगभंगसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक पाठकले जानकारी दिए ।

पत्रकार सम्मेलनलगत्तै लैंगिक हिंसा नियन्त्रण सन्जालको कोषबाट पीडितकी आमा सुमित्रा कामीलाई ५० हजार १ सय ५ रुपैयाँ सहयोग गरेको छ  । प्रहरी उपरिक्षक पाठकले सुमित्रा कामीलाई उक्त रकमको चेक हस्तान्तरण गरे । त्यसैगरी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले व्यक्तिगत रुपमा ५ हजार रुपैयाँ सहयोग स्वरुप हस्तान्तरण गरे ।

हरिकलाकी आमा सुमित्राले ८ वर्षअघि छोरीको विश्वनाथसँग फोन सम्पर्कमार्फत प्रेम परेपछि भागी विवाह गरेको बताइन् । छोरीको घर व्यवहार चलाउन आफूले नियमित आर्थिक सहयोग गरेको पनि उनले बताइन् ।

हरिकलाका बुवा राजकुमारले ज्वाइँ विश्वनाथले पछिल्लो समय आफू वैदेशिक रोजगारीमा जान खोजेको र त्यसका लागि आफूसँग १० लाख रुपैयाँ मागेकामा आफूले भिसा लागेपछि त्यो बराबरको रकम दिने  आश्वासन दिए पनि ज्वाइँले छोरीलाई उक्त रकम पटक-पटक मागेर यातना दिइरहेको आफूले जानकारी पाएको बताए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully