कारागारमा गाँजा प्रकरण : छानबिन समितिले पनि पत्ता लगाउन सकेन कारण

कारागारको ‘ए ब्लक’मा एउटै कोठामा बस्दै आएका महदेवा गाउँपालिका–१ का सुमित मण्डल, राजविराज नगरपालिका–६ का सुरज राउत र वडा नम्बर ५ का अभिषेक मण्डललाई चेकजाँच गर्दा ती प्रतिबन्धित सामग्री बरामद भएको थियो ।

चैत्र ८, २०८२

विद्यानन्द राम

Marijuana case in prison: Even the investigation committee could not find the cause

What you should know

राजविराज — सप्तरीको राजविराज कारागारमा प्रतिबन्धित लागूऔषध गाँजा, सेवन गर्न प्रयोग हुने चिलिम र एउटा मोबाइल भेटिएको विषयमा गठित छानबिन समितिले पनि कारण पत्ता लगाउन सकेको छैन । गत माघ २० गते बिहान त्यहाँका कैदीबन्दीलाई चेकजाँच गर्दा १० ग्राम गाँजा, चिलिम र एउटा मोबाइल बरामद भएको हो ।

घटना छानबिन गर्नका लागि जिल्ला प्रशासन कार्यालयले प्रशासकीय अधिकृतको नेतृत्वमा कारागारका प्रमुख, जिल्ला प्रहरी कार्यालयका असई र प्रशासनकै नायब सुब्बा सम्मिलित छानबिन समिति गठन गरेको थियो । तर, समितिले लामो समय लगाएर छानबिन गर्दा पनि त्यहाँसम्म गाँजा, चिलिम र मोबाइल कसले पुर्‍याएको हो भन्ने विषय पत्ता लगाउन सकेको छैन ।

प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले कारागारमा देखिएका समस्या र त्रुटिहरू उल्लेख गरी समितिले प्रतिवेदन बुझाएको बताए । ‘ठ्याक्कै कसरी त्यहाँसम्म ती सामग्री पुगेको हो, त्यस विषयमा प्रहरीको अनुसन्धानले देखाउला,’ उनले भने, ‘काहीँ सेटिङ–साँठगाँठ छ कि भनेर केही कर्मचारी र प्रहरीलाई सरुवाका लागि विभागलाई पठाइसकेका छौं ।’

प्रतिवेदनमा उल्लेख भएका सुरक्षा चेकजाँचमा आधुनिकीकरण गर्नुपर्ने, सीसीटिभी र टेष्टिङ मेसिकको प्रयोग बढाउनुपर्ने, आवश्यक पर्याप्त मात्रामा सुरक्षाकर्मी बढाउनुपर्नेलगायतका विषय पूरा गर्नका लागि कारागार विभागमा आग्रह गरिसकेको उनले बताए । ‘प्रतिवेदन कार्यान्वयन भइदियो र साधन–स्रोतको पर्याप्तता भइदियो भन्ने कारागार व्यवस्थापनमा सुधार हुने हाम्रो अपेक्षा छ,’ प्रजिअ पोखरेलले भने ।

‘ए ब्लक’मा एउटै कोठामा बस्दै आएका महदेवा गाउँपालिका–१ का सुमित मण्डल, राजविराज नगरपालिका–६ का सुरज राउत र वडा नम्बर ५ का अभिषेक मण्डललाई चेकजाँच गर्दा ती प्रतिबन्धित सामग्री बरामद भएको थियो । घटनापछि चोरी, हातहतियार तथा लागूऔषध ओसारपसारसम्बन्धी मुद्दामा ४ वर्ष सजाय भोगिरहेका सुमित र कर्तव्य ज्यान सम्बन्धी मुद्दामा ३ वर्ष ४ महिना कैद काटिरहेका सुरजलाई रौतहट कारागार पठाइएको छ भने विभागबाट अनुमति पाउन बाँकी रहँदा ठगी तथा नागरिकता कसूरमा थुनुवा रहेका अभिषेक यहीँ छन् ।

यता, प्रहरीले पनि बरामद भएको मोबाइलको ‘कल हिस्ट्री’बाट अनुसन्धान अघि बढाए पनि अहिलेसम्म कारण खुलाउन सकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले त्यस विषयमा अनुसन्धान भइरहेको बताए । ‘अहिले हामी अनुसन्धानकै क्रममा छौं,’ उनले भने ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully