सहमतिपछि हरि खेतान क्याम्पसका विद्यार्थीको आन्दोलन स्थगित

आइतबार साँझ जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सरोकारवालाहरूको बैठकले तीन बुँदे निर्णय गरेसँगै दिनभर जारी प्रदर्शन रोकिएको हो ।

चैत्र ८, २०८२

शंकर आचार्य

Hari Khetan Campus students' protest suspended after agreement

पर्सा — वीरगन्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा व्यवस्थापन र शिक्षकबीचको लामो समयदेखिको विवादका कारण उत्पन्न विद्यार्थी आन्दोलन तीन बुँदे सहमतिपछि स्थगित भएको छ।

आइतबार साँझ जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सरोकारवालाहरूको बैठकले तीन बुँदे निर्णय गरेसँगै दिनभर जारी प्रदर्शन रोकिएको हो । प्रमुख जिल्ला अधिकारी भोला दाहालको रोहबरमा बसेको बैठकमा आन्दोलनरत विद्यार्थीका प्रतिनिधि, क्याम्पस सन्चालक समिति र प्राध्यापकहरू सहभागी थिए। बैठकले स्थगित परीक्षा र पठनपाठन तत्काल सन्चालन गर्ने, आन्दोलनका क्रममा घाइते भएका विद्यार्थीहरूको उपचार क्याम्पस प्रशासनले गर्ने तथा विद्यार्थीका अन्य मागबारे सोमबार पुनः छलफल गर्ने निर्णय गरेको छ ।

यसअघि, कक्षा ११ र १२ को परीक्षा स्थगित गरिएको विरोधमा विद्यार्थीहरू आइतबार बिहानैदेखि सडकमा उत्रिएका थिए । परीक्षा दिन क्याम्पस पुगेका विद्यार्थीहरूलाई मुख्य गेटमै रोकेपछि स्थिति तनावपूर्ण बनेको थियो। प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्ज गर्दै तीन जना विद्यार्थीलाई नियन्त्रणमा लिएको थियो भने एक विद्यार्थी घाइते भएका थिए।

आक्रोशित विद्यार्थीहरू नाराबाजी गर्दै घण्टाघर चोक पुगेर सडक अवरुद्ध गरेका थिए। उनीहरूले टायर बाल्नुका साथै जिल्ला प्रशासन कार्यालय पर्सा पुग्ने प्रयास गरेका थिए। तर सुरक्षाकर्मीले रोकेपछि पुनः क्याम्पस फर्केर प्रदर्शन जारी राखेका थिए।

प्रदर्शनका क्रममा क्याम्पसको बसमा तोडफोड गरिएको थियो भने फुटपाथमा रोपिएका रुख बिरुवा पनि भाँचिएका थिए। साथै क्याम्पस प्रमुखलाई भगाएको आरोपमा एक युवकलाई कुटपिट समेत गरिएको थियो । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully